२० मंसिर २०८२, शनिबार

त्रिभुवननगर जेसीजलाई “जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार”

प्रकाशित मिति :  1 July, 2025 6:54 pm


दाङ । युवा क्षमता विकास, सामाजिक उत्तरदायित्व र संस्थागत पारदर्शिताको अनुकरणीय अभ्यास गर्दै आएको त्रिभुवननगर जेसीजले नेपाल जेसीजअन्तर्गतको प्रतिष्ठित “जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार” प्राप्त गरेको छ ।

क्षेत्र ‘घ’ भित्रका ५८ स्थानीय शाखामध्ये उत्कृष्ट शाखाका रुपमा नेपाल जेसीजले त्रिभुवननगर जेसीजलाई “जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार” प्रदान गरेको हो ।

त्रिभुवननगर जेसीजले वार्षिक कार्ययोजनाअनुसार युवालक्षित बहुआयामिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावत अनन्तले विभिन्न परियोजना निर्माण गरेर जेसीजका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले समयमै र गुणस्तरीय कार्यान्वयन, राष्ट्रिय तथा प्रदेशस्तरीय अभियानमा उल्लेखनीय सहभागिता, सामाजिक सचेतनामूलक तालिम र नियमित प्रतिवेदन पेसजस्ता अभ्यासहरूको उपलब्धिको आधार नै “जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार” रहेको बताए ।

“यो पुरस्कार केवल सम्मान होइन, हाम्रो साझा समर्पण र संस्थागत आत्मदर्शनको साक्षी हो । यसले हामीलाई अझै प्रतिबद्ध र सशक्त रूपमा समाजको सेवामा जुट्न प्रेरणा दिएको छ”, अध्यक्ष रावतले भने ।

नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि, सार्वजनिक अभिव्यक्ति कला, समुदाय सेवाजस्ता कार्यक्रममार्फत् त्रिभुवननगर जेसीजले युवामाझ आत्मविश्वास र उत्तरदायित्वको भावना रोप्दै आएको छ ।

“नेता जन्मिने होइन, बनिने हुन्छ” भन्ने भावनासहित संस्था युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नसक्ने बनाउने उद्देश्यले गोष्ठी, अन्तरक्रिया, सचेतना अभियान तथा सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।

युवा सशक्तिकरणका अतिरिक्त त्रिभुवननगर जेसीजले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तिकरण र स्वरोजगार प्रवद्र्धनमा समेत उल्लेखनीय कार्य गर्दै आएको छ । स्थानीय तहसँगको सहकार्य र साझा सरोकारका क्षेत्रमा संस्थाको उपस्थिति सामाजिक परिवर्तनको उत्प्रेरक बन्दै गएको छ ।

“व्यक्तित्व विकासबाट राष्ट्र निर्माण” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संस्था निरन्तर अग्रसर छ । जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कारले त्रिभुवननगर जेसीजलाई अझै नयाँ संकल्प, नवीन ऊर्जा र दीर्घदृष्टिसहित युवा उत्प्रेरणाको मार्गमा अगाडि बढ्न थप हौसला दिएको छ ।

यो सम्मान केवल संस्थाको लागि मात्र होइन, दाङ जिल्लाकै गौरव र प्रेरणा बनेको छ–जहाँ युवाहरू परिवर्तनका संवाहक मात्र होइनन्, उज्यालो भविष्यका सिर्जनाकार बन्न तयार छन् ।



प्रतिक्रिया दिनुहोस !