लुम्बिनी प्रदेश सभाको बैठक : आज विनियोजन विधेयकमाथि छलफल हुने
दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको सोह्रौं बैठक आज बस्दै छ । दिउँशाे १२ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको विनियोजन विधेयकमाथि मन्त्रालय तथा तिनसँग सम्बन्धित निकायका शीर्षकहरुमाथि समूहीकृत छलफल हुने तय भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
प्रदेश सभाका सचिव पुनका अनुसार “आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” अन्तर्गतका शीर्षकमाथि व्यापक छलफल गरिनेछ।
बैठकमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेकाे पुनले जानकारी दिए ।
विनियोजन विधेयक प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति, प्राथमिकता र स्रोतको वितरणसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसमाथि गम्भीर र बहुआयामिक बहस हुने अपेक्षा गरिएको छ ।
प्रमुख प्रतिपक्षी दलहरू तथा सत्तारूढ दलका सदस्यहरूबाट विभिन्न क्षेत्रीय र विषयगत माग र सिफारिसहरू प्रस्तुत हुने संभावना छ ।
सरकारको तर्फबाट भने समावेशी, सन्तुलित र परिणाममुखी बजेट निर्माणमा ध्यान दिइएको बताइएको छ । छलफलले प्रदेशको आगामी नीति निर्माण र विकास योजनामा मार्गदर्शन दिने अपेक्षा गरिएको छ ।








