स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बहुपक्षीय भेटवार्ता र नेपाली समुदायसँग अन्तरक्रिया

काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भई स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज अपराह्न ३:४५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको सूचना तथा प्रसारण विभागले जनाएको छ ।
शनिबार, असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले स्पेनको सेभियामा आयोजित सम्मेलनमा नेपालको तर्फबाट सम्बोधन गर्नुका साथै अल्पविकसित देशहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । सम्मेलनका विभिन्न सत्रहरूमा समेत उनको उल्लेखनीय सहभागिता रह्यो ।
स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली तथा पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । यी भेटवार्ताहरूमा द्धिपक्षीय सहयोग, जलवायु परिवर्तन, आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल भएको जनाइएको छ।
भ्रमण अवधिभर प्रधानमन्त्री ओलीले ‘विकास सहायतामा नयाँ सोच’ भन्ने विषयमा आयोजित उच्चस्तरीय सत्रमा सहभागिता जनाउनुका साथै विभिन्न साइड इभेन्टहरूमा पनि नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सशक्त उपस्थिति जनाए ।
राजनीतिक तथा कूटनीतिक भेटघाटहरूबाहेक प्रधानमन्त्री ओलीले स्पेनको राजधानी मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला समेत भ्रमण गरे ।
त्यस्तै, मेड्रिडस्थित नेपाली दूतावासको निरीक्षण र स्पेनमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि उनले अन्तरक्रिया गरे।
प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहा हुँदै स्वदेश फर्कन प्रस्थान गरेका छन् । उनको यो भ्रमणलाई नेपालका विकास साझेदार मुलुकहरूसँग आर्थिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।