उधारोले सताएका रोल्पाली व्यवसायीहरू संगठित : असार ३२ गतेसम्म भुक्तानी गर्न अन्तिम म्याद

दाङ । “वर्षौंअघिको उधारो अझै फिर्ता आएको छैन, कारोबार उधारोमै चल्यो भने अब पसल बन्द गर्नुपर्ने दिन आउँछ”, यो गुनासो आजकल माडी गाउँपालिका–२, घर्तीगाउँ बजारका अधिकांश व्यापारीहरूको साझा पीडा बनेको छ ।
यस्तै समस्या समाधान गर्न यहाँका स्थानीय व्यवसायीहरू संगठित भएका छन्। उधारोमा सामान दिएर पैसा नपाएको पीडामा रहेका व्यापारीहरूले पहिलोपटक ‘उधारो पीडित संगठन’ नामक संयन्त्र बनाएर सार्वजनिक रूपमा दबाब सिर्जना गरेका छन् ।
जीएम हार्डवेयरका सञ्चालक दलबहादुर घर्ती मगरको संयोजकत्वमा गठन भएको यस संगठनमा स्थानीय ११ जना व्यवसायीहरू आबद्ध छन् । उनीहरूमध्ये खर्कबहादुर घर्ती मगर (एबीसी भाँडा पसल), हिरालाल घर्ती (आरडी होटल), हरिप्रसाद खड्का (प्रकाश स्टोर), देवबहादुर वली (लब्ली ग्रील उद्योग), चन्द्रबहादुर बुढामगर (चन्द्र इलेक्ट्रोनिक), हरिबहादुर बुढामगर (हरियाली महिला काष्ठ उद्योग), प्रशाराम घर्ती मगर (सुनछरी इलेक्ट्रोनिक), खड्कबहादुर घर्ती मगर (माडी ढुंगाखानी उद्योग), टेकबहादुर बुढामगर (काका भतिज ढुवानी सेवा) र पृथ्वी घर्ती मगर (देउराली रिमिक्स पसल) रहेका छन्।
संगठनले संयुक्त रूपमा एक सूचना जारी गर्दै पुराना र नयाँ गरी सबै बक्यौता रकम यही असार ३२ गतेभित्र चुक्ता गरिदिन आग्रह गरेको छ। सूचनामा भनिएको छ, “यस आर्थिक वर्ष र पुरानो बाँकी बक्यौता रकम यही असार ३२ गतेभित्र चुक्ता गरिदिनुहुन जानकारी गराइन्छ । अन्यथा सावा र व्याजसहित वडा कार्यालय, न्यायिक समिति तथा इलाका प्रशासन कार्यालयमा उजुरी दिन बाध्य हुनेछौं ।”
सूचनापछि बजारमा एक किसिमको तरङ्ग उत्पन्न भएको छ। व्यवसायीहरू आफ्नो हकको मागमा स्पष्ट र दृढ देखिन्छन् भने कतिपय ग्राहकहरू यस्तो समूहगत चेतावनीप्रति अचम्मित र अप्ठ्यारो महसुस गरिरहेका छन् ।
व्यवसायीहरू पुरानो उधारो रकम हजारौँदेखि लाखौँ रुपैयाँसम्म पुगेको बताउँछन् । कोही सम्पर्कविहीन छन् भने कोही सानो रकम बुझाएर बाँकी बिस्तारै मिलाउने आश्वासन मात्र दिइरहेका छन् तर, ती आश्वासन वर्षौंदेखि अधुरै छन् ।
संगठनका संयोजक घर्ती मगरका अनुसार अब कानुनी प्रक्रिया अघि बढाउने समय आएको छ । “हामीले धेरै सहन गर्यौं तर अब कानुनी बाटो रोज्न हामी बाध्य छौं,” उनले भने ।
उनीहरू आगामी दिनमा उधारो कारोबारलाई व्यवस्थित गर्न आचारसंहिता तयार गर्ने र ग्राहकसँग लिखित सम्झौता नगरी सामान नदिनेजस्ता उपाय पनि अपनाउने तयारीमा छन्।
यो पहल व्यवसायीहरूको अस्तित्व र आत्मरक्षाका लागि गरिएको संगठित प्रयास हो। यस्ता कदमले बजार क्षेत्रमा अनुशासन, पारदर्शिता र विश्वासको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । उधारोको नाममा व्यापार नै डुब्ने स्थितिमा पुगेका व्यापारीहरूको यो आवाज अब एक साधारण गुनासो नभई दबाबमूलक सशक्त कदम बनेको छ ।
संगठनले स्थानीय वडाकार्यालय, न्यायिक समिति र प्रशासनलाई पनि आवश्यक सहकार्य गर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो व्यवसायिक सुरक्षाका लागि सरकारी संयन्त्रहरूलाई पत्रचार गर्ने र दर्ता गरिएका व्यापारको कानुनी संरक्षण माग गर्ने बताएका छन्।
घर्तीगाउँ बजारमा व्यवसाय गरिरहेका थुप्रै व्यापारीहरू आर्थिक दृष्टिले कमजोर बन्दै गएका छन् । बैंकको ऋण, कारोबारको खर्च, कर तिर्नुपर्ने बाध्यता र उधारोले गर्दा उनीहरूको दैनिक व्यापार घाटामा गएको छ ।
यस्तो अवस्थामा यो संगठनले उठाएको आवाज न केवल समयानुकूल देखिन्छ, यो स्थानीय व्यवसाय संरक्षणको सुरुवाती मोर्चा पनि हो ।
यदि असार ३२ गतेसम्म बक्यौता रकम चुक्ता भएन भने, उधारोमा सामान लिएकाहरूले अब कानुनी प्रक्रिया सामना गर्नुपर्नेछ । यस्तो कदमले बजारमा अनुशासन ल्याउनुका साथै सम्पूर्ण व्यवसायीहरूलाई आत्मविश्वास जगाउनेछ । घर्तीगाउँ बजारबाट सुरु भएको यो अभियान रोल्पा जिल्लाका अन्य बजारहरूमा पनि फैलिन सक्ने सम्भावना देखिएको छ ।
अब देखिने छ-उधारो संस्कारको अन्त्य र नगदमा कारोबार गर्ने अनुशासित व्यापारिक संस्कृतिको आरम्भ माडीबाट हुन्छ कि ? समयले नै यसको उत्तर दिनेछ तर यो सत्य हो-व्यापार टेकेरै उभिएको समाजमा व्यापारीको आवाज अब दबिने छैन।
