१ श्रावण २०८२, बिहिबार

नागरिक उन्मुक्ति पार्टीद्वारा लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता

प्रकाशित मिति :  6 July, 2025 7:02 pm


दाङ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । नाउपाको प्रदेश संसदीय दलको बैठकले सरकारको कामप्रति गम्भीर असन्तुष्टि जनाउँदै आइतबार समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।

दलका नेता धर्मबहादुर चौधरीले सरकार निरंकुश बन्दै गएको, बजेट निर्माणलगायत नीति–निर्माणका प्रक्रियामा आफ्नो दललाई बेवास्ता गरिएको र उठाइएका मागहरूलाई सम्बोधन नगरिएको आरोप लगाएका छन् ।

उनले भने, ‘‘सरकारमा सहभागी नभए पनि समर्थन दिइरहेका थियौं तर हाम्रो मागलाई बेवास्ता गरियो, पार्टीको गरिमा गिराउने ढंगले व्यवहार गरियो। यो स्वीकार्य छैन।’‘

यसअघि सुदूरपश्चिम प्रदेशमा आफ्ना मन्त्री रामेश्वर चौधरीलाई ‘दादागिरी शैली’ मा हटाइएको भन्दै नाउपाले संघीय सरकार र सुदूरपश्चिम सरकारबाट पनि समर्थन फिर्ता लिइसकेको छ। अब लुम्बिनी प्रदेशमा पनि समर्थन फिर्ता भएपछि नाउपा सरकारबाट पूर्णरूपमा बाहिरिएको छ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरिरहेको गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, जनमतलगायत दल छन् तर नाउपाको समर्थन गुमे पनि सरकार अल्पमतमा पर्ने अवस्था देखिदैन।



प्रतिक्रिया दिनुहोस !