प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच शिष्टाचार भेट : विकास र सहकार्यका विषयमा छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीट्जरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले सोमबार शिष्टाचार भेट गरेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्दै विकास र सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री क्यासिसले नेपालमा विकास, संघीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा स्वीट्जरल्याण्डको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपालमा दशकौँसम्म रहेको राजनीतिक अस्थिरता र द्वन्द्वपछि अब लोकतान्त्रिक प्रणाली, सुशासन र समावेशी विकासका मार्गमा मुलुक अघि बढिरहेको जानकारी गराउँदै विकासका अभियानमा स्वीस सरकारको साथ र योगदानका लागि धन्यवाद व्यक्त गरे ।
उनले दुई ठूला दलबीचको सहकार्यमा बनेको वर्तमान सरकारको मुख्य उद्देश्य सुशासन, विकास र लोकतान्त्रिक मूल्यको सुदृढीकरण भएको उल्लेख गरे ।
भेटमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू र दुवै देशका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यो भेट नेपाल–स्वीस सम्बन्धमा नयाँ ऊर्जा थप्ने आशामा गरिएको कूटनीतिक संवादको एउटा सशक्त कडीका रूपमा हेरिएको छ ।








