२४ मंसिर २०८२, बुधबार

बाढीले बाग्लुङमा जलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगायो

प्रकाशित मिति :  9 July, 2025 9:29 am


काठमाडाैँ । बाग्लुङकाे जैमिनी नगरपालिका–९ स्थित पैयुथन्थापको कालुङ्खोलामा आएको भीषण बाढीले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ ।

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस पूर्ण रूपमा बगाएको स्थानीय गङ्गा आचार्यले राससलाई जानकारी दिए ।

गत वर्ष करिब ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुलसमेत बाढीले बगाएको उनले बताए । त्यससँगै केन्द्रीय विद्युत् प्रसारण लाइनमा रहेको ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ, जसका कारण पैयुथन्थाप क्षेत्रका करिब एक सय ३० घरधुरीमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढीका कारण स्थानीय खरेयाबोट क्षेत्रमा दुई परिवार पूर्ण विस्थापित भएका छन् भने सात परिवार अझै पनि बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् । बाढीले खोला किनारमा लगाइएको धानबालीमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

स्थानीय बासिन्दाहरूको अनुसार रातिदेखिको अविरल वर्षापछि खोलामा पानीको सतह एक्कासि बढ्दै गएपछि यस्तो अवस्था आएको हो । अहिले पनि बाढीको बहाव उच्च रहेकाले थप क्षतिको जोखिम कायमै रहेको बताइएको छ ।

स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग तत्काल उद्धार र पुनःस्थापनाको माग गरिएको छ । बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको र आवश्यक राहतको समन्वयका लागि तयारी थालिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !