कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्कासित
गत निर्वाचनमा नवलपरासी पश्चिम–१ का कांग्रेस उम्मेदवार विनोद चौधरीलाई असहयोग गरेको आरोपमा खनालविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको थियो
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । यही असार १७ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई पार्टीको साधारण सदस्यता समेतबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा नवलपरासी पश्चिम क्षेत्र नं. १ मा पार्टीका आधिकारिक उम्मेदवार विनोद चौधरीलाई असहयोग गरेको आरोपमा खनालमाथि अनुशासन उल्लंघनसम्बन्धी उजुरी परेकाे थियाे ।
उजुरीमा खनालले आफ्नै निर्वाचन क्षेत्रभित्र बाहिरबाट उम्मेदवार ल्याइएको भन्दै असहयोग गरेको र उम्मेदवारलाई हराउन खोजेको ठोस प्रमाणसहित विवरण पेश गरिएको थियो ।
पार्टीले खनालसँग उक्त उजुरी सम्बन्धमा स्पष्टिकरण मागेको थियो तर खनालको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै केन्द्रीय अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) तथा उपधारा ८ (इ) को आधारमा कारबाही गरेको समितका संयाेजक आनन्दप्रसाद ढुङ्गानाले जनाएका छन् ।
अनुशासन समितिले जारी गरेको निर्णयपत्रमा भनिएको छ, “उपलब्ध प्रमाणको आधारमा खनाललाई १ (एक) वर्षका लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ।”
खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सक्रिय नेता मात्र होइन, लामो समयदेखि संगठन निर्माणमा योगदान दिँदै आएका व्यक्ति हुन् तर पछिल्लो निर्वाचनमा पार्टीभित्रको गुटगत असहमति र उम्मेदवार चयनमा असन्तुष्टि सार्वजनिक हुँदै आएको थियो । खनालको निष्कासनलाई पार्टीभित्रको गहिरिँदो अन्तरविरोधको उदाहरणका रूपमा पनि हेरिएको छ ।
पार्टीभित्र यस्तो अनुशासनको कारबाहीलाई केही नेताहरूले आवश्यक कदम भनेका छन् भने अन्य केहीले यसले असन्तुष्ट कार्यकर्तालाई झन् टाढा बनाउने बताएका छन् ।










