मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालको नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवनको औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
प्रदेश सरकारको रु. ७ करोड ७७ लाख बढीको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको बिहीबार एक भव्य समारोहबीच उद्घाटन गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रहरी अस्पताललाई १५ शैयाबाट विस्तार गरी ५० शैयाको आधुनिक अस्पतालमा रूपान्तरण गरिने घोषणा गरे । उनले यस कार्यका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक कागजातहरू तुरुन्तै पठाउन निर्देशन दिने बताएका छन् ।
मुख्यमन्त्री आचार्यले भने, “यसलाई १५ शैयामा सीमित गर्नु हुँदैन। अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५० शैयाको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौं ।”
उनले आगामी दिनमा अस्पताललाई बाँकेको विशिष्टिकृत स्वास्थ्य संस्थाका रूपमा विकास गरिने उल्लेख गरे। सेवा र सुविधा विस्तारका लागि प्रदेश सरकारले पूर्ण साथ दिने प्रतिवद्धता जनाउँदै उपकरण व्यवस्थापन र विशेषज्ञ जनशक्तिको व्यवस्था प्रदेश सरकारकै प्राथमिकता भएको बताए । उनले अस्पताल व्यवस्थापन समितिलाई अझ गम्भीर भएर काम गर्न सुझाव समेत दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्टको अध्यक्षता थियो भने प्रमुख अतिथि मुख्यमन्त्री आचार्य थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाललगायतले पनि सम्बोधन गरेका थिए ।
समारोहमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. गोपेश कुमार ठाकुरले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्यामकृष्ण लौडारीले गरेका थिए।
यो उद्घाटनले लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवा विस्तारतर्फको सरकारी प्रतिबद्धतालाई सशक्त बनाएको छ भने प्रदेश प्रहरी अस्पताललाई अब अझ स्तरीय, सुसज्जित र जनमैत्री सेवासंस्थाका रूपमा अगाडि बढाउने संकेत दिएको छ ।








