रसुवाको भोटेकोशी बाढी : एघार शव फेला, १७ जना अझै बेपत्ता
दाङ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीले पारेको विनाश अझै पनि समाप्त भइसकेको छैन । सरकारले दिएको पछिल्लो विवरणअनुसार बाढीमा परी बेपत्ता भएका ११ जनाको शव फेला पारिएको छ तर अझै १७ जना मानिस हराइरहेका छन् ।
राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (प्राधिकरण) का कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले घटनाका पछिल्ला विवरण सार्वजनिक गरेका हुन् ।
उनका अनुसार हालसम्म १ हजार ९५० सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् । तीमध्ये ७४९ जना स्थलमार्गबाट र २०० जना हवाईमार्गबाट उद्धारमा खटिएका छन् ।
यस बाढीले भौतिक संरचनामा पनि गम्भीर क्षति पुर्याएको छ । २३ वटा कार्गो कन्टेनर, ४७ वटा विद्युतीय गाडी, ६ वटा सवारीसाधन बगाएको र दुईवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा एकवटा पुलमा आंशिक क्षति पुगेको जानकारी दिइएको छ ।
स्याँफ्रुबेसीदेखि टिमुरेसम्मको १६ किलोमिटर सडक खण्डमा धेरै ठाउँमा क्षति पुगेको छ। करीब १ हजार २ सय मिटर सडक पूर्ण रूपमा बगाएको छ । बाढीले तीन जलविद्युत् आयोजनालाई प्रभाव पारेको छ, जसमा रसुवागढी ११० मेगावाटको आयोजनामा सबैभन्दा बढी क्षति पुगेको प्राधिकरणको भनाइ छ ।
प्रमुख भट्टका अनुसार बाढीको मूल कारण हिमताल फुटेको हुनसक्ने प्रबल अनुमान गरिएको छ । “हिमताल फुटेकै हो भन्ने नजिक हाम्रो अध्ययन पुगेको छ,” उनले भने, “कतिपय अवस्थामा शव पूरै भेटिएको छैन, मानव अंग मात्र फेला परेको छ ।”
सुरक्षा टोलीले उद्धार र राहत कार्य तिब्र पारे पनि चुनौती उत्तिकै छन् । सडक र पुल भत्किएका कारण पीडित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । सरकारद्वारा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
यस घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिन थालेका नयाँ जोखिमहरूको गम्भीर संकेत दिएको छ। तत्कालीन राहत र दीर्घकालीन जोखिम न्यूनीकरण रणनीति अब थप सशक्त र वैज्ञानिक आधारमा अघि बढाउनु अपरिहार्य देखिन्छ ।








