२० मंसिर २०८२, शनिबार

अलपत्र बन्दै दाउन्ने–बुटवल सडक : अधुरो निर्माणले निम्त्याउँदै संकट, जनआक्रोश बढ्दै

वर्षौंदेखि अलपत्र सडक योजनाले यात्रु, व्यवसायी र स्थानीय जनता धुलो र हिलोको त्रासद पीडामा
प्रकाशित मिति :  14 July, 2025 5:07 pm


बुटवल । वर्षौँदेखि निर्माणाधीन दाउन्ने–बुटवल सडकखण्ड समयमै पूरा नहुँदा जनजीवन कष्टकर बन्दै गएको छ। यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्रामा बाध्य छन् भने सडकछेउका व्यवसायहरू अस्तव्यस्त अवस्थामा पुगेका छन् ।

राजमार्गको छेउछाउमा रहेका होटल, पसल र साना उद्योगहरू धुलो र धुवाँका कारण बन्द हुने अवस्थामा छन् । पहिले दैनिक सयौं ग्राहकको चहलपहल रहने होटलहरू अहिले सुनसान छन् । व्यापार अर्धरातको जस्तो शान्त छ ।

दाउन्ने नजिकै होटल सञ्चालन गर्दै आएका व्यवसायी पदमबहादुर पोखरेल भन्छन्, “पहिला मान्छे गन्न सकिने अवस्था हुन्नथ्यो । अहिले त बाटोमा गाडी चल्दैनन्, मान्छे आउँदैनन् । धुलो, हिलो र निर्माणको थला परेकै कारण व्यापारै खत्तम छ।”

उनले सडक निर्माणले केही गति लिएको स्वीकार गरे पनि कामको शैली र गति अझै सन्तोषजनक नभएको जनाए । “अहिलेजस्तो गतिमा काम भयो भने त अर्को वर्ष सकिएला भन्ने आशा छ,” पोखरेलले भने ।

होटल व्यवसायमा नाफा त परै जाओस्, सन्चालनमै संकट आएको भन्दै पोखरेलजस्ता व्यवसायी अब विकल्पको खोजीमा छन्। “यसो भनेपछि व्यवसायीहरू पलायन हुने अवस्था आयो,” पोखरेलको गुनासो छ ।

सडक निर्माणमा ढिलाइ हुनुका पछाडि राज्यको कमजोरी प्रमुख कारण भएको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल बताउँछन् । उनले भने, “व्यवसायीका पनि केही समस्या छन् तर मुख्य जिम्मेवार त सरकार नै हो। समयमै भुक्तानी नहुनु, व्यवस्थापकीय असहजता र ढिलासुस्तीले काम अघि बढ्न सकेको छैन ।”

सडक निर्माणमा संलग्न निर्माण कम्पनीहरूलाई ठेक्का दिइएको धेरै समय बितिसक्दा पनि सडक अझै पूर्ण रूपमा फराकिलो बनिसकेको छैन । यात्रुहरू वर्षातमा हिलो र हिउँदमा धुलोका कारण हैरान छन् । स्थानीय बासिन्दा र व्यवसायीहरू सरकारसँग छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न जोडदार माग गरिरहेका छन् ।

योजना बने पनि समयमै सम्पन्न नहुनु र कामको गुणस्तरमा समेत चासो नदेखाइने अवस्था दाउन्ने–बुटवल सडकखण्डजस्ता योजनाहरूको नियति जस्तै बन्दै गएको छ। जनता अझै प्रतिक्षामा छन्-धुलोमुक्त यात्रा र व्यवसायको पुनरुत्थानका लागि।



प्रतिक्रिया दिनुहोस !