२० मंसिर २०८२, शनिबार

बबई नदीमा डुबेर दुई किशोरको मृत्यु

प्रकाशित मिति :  14 July, 2025 6:56 pm


संकेतिक फाइल फोटो

दाङ । दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो पश्चिम दाङको बबई गाउँपालिकास्थित बबई नदीमा नुहाउने क्रममा तुलसीपुरका दुई किशोरकाे मृत्यु भएकाे हाे ।

डुबेर मृत्यु हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षिय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षिय कुशल बुढामगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू छ जनाको समूहमा घुमघामका लागि पुरन्धारा छहरा गएका थिए ।

घुमघामकै क्रममा दिउँसो करिब २ बजेतिर बिधान केसी बबई नदीमा नुहाउन पसेका थिए । नदीको बहाव तीव्र भएकाले उनी बग्न थालेपछि उनलाई बचाउन साथी कुशल बुढामगर पनि नदीमा हाम फालेका थिए तर दुबै जनालाई नदीको बलियो बहावले बगाएको प्रहरीले जनाएको छ ।

अन्य साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । खोजतलासपछि दुबै जनाको शव घटनास्थलभन्दा केही मिटर तल फेला परेको इन्स्पेक्टर खड्काले जानकारी दिए । उनीहरूको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, स्थानीय प्रशासनले वर्षायामको समयमा नदी आसपासमा विशेष सतर्कता अपनाउन आमनागरिकलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !