देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको केही उत्तरतिर रहेकाले देशका अधिकांश भागमा बदली र वर्षाको सम्भावना रहेको हो ।
महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
यसका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा र बाँकी अन्य भागका केही स्थानमा समेत मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने संकेत छ । रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागमा रातिको समयमा पनि हिमपात हुनसक्ने देखिएको छ भने कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना पनि रहेको छ ।
वर्षासँगै सम्भावित पहिरो, बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।








