देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा र डुबानको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनसँग सम्बन्धित न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ सक्रिय रहेकाले देशका विभिन्न भागमा वर्षाको सम्भावना उच्च देखिएको हो।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
अन्य प्रदेशका केही स्थानहरूमा पनि यस्तै प्रकारको मौसम देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा अत्यधिक वर्षाको पूर्वानुमान गरिएको छ भने मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले औंल्याएको छ। कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशका केही स्थानहरूमा हुरीको सम्भावना पनि छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान तथा अन्य केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
आज बिहान ६ः०० बजे जारी नियमित बुलेटिनमा महाशाखाले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावनासहित सतर्क रहन आग्रह गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो र गेग्य्रान बहावको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ ।
सहरी तथा तराई क्षेत्रका विभिन्न स्थानमा डुबानको जोखिम बढेकाले स्थानीय बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। साथै, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
सरोकार निकायहरू तथा सर्वसाधारणलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न महाशाखाले पुनः आग्रह गरेको छ।








