साउन १ देखि भदौ २१ सम्म ‘श्री पशुपति मनकामना पूर्ति’ तथा ‘संकट मोचन विराट ज्ञान महायज्ञ २०८२’
काठमाडौँ । सनातन धर्मको संरक्षण, सामाजिक सेवाको प्रवर्धन र विश्वशान्तिको कामनासहित श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ २०८२ काठमाडौँको पशुपति क्षेत्रमा हुने भएकाे छ । महायज्ञ साउन १ गतेदेखि भदौ २१ गतेसम्म सञ्चालन हुने भएको छ।
श्री मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा सुरू भएको यो ऐतिहासिक महायज्ञ मार्फत धार्मिक साधना र सेवा कार्यलाई एकै साथ अघि बढाइएको छ। महायज्ञबाट संकलन हुने दान सहयोगले ललितपुरको गोदावरीस्थित मामाघर अनाथालय आश्रम र भक्तपुरको ताथलीस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणमा सहयोग गरिने आयोजकले जनाएका छन्।
महायज्ञमा मनोकामना पूर्ति, संकट निवारण, आत्मशुद्धि, आध्यात्मिक उन्नति, पारिवारिक कल्याण लगायतका उद्देश्यले पूजा, पाठ, हवन, आराधना, संकल्प, रुद्राभिषेक, महामृत्युञ्जय जाप, नवग्रह शान्ति लगायतका धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ। साथै, वेद, उपनिषद्, गीता, रामायण र भागवतमा आधारित शास्त्रीय प्रवचन, कथा वाचन र सत्सङ कार्यक्रम पनि हुनेछन्।
साथै, धार्मिक संस्कारमा नयाँ पुस्ताको सहभागिता बढाउन बालबालिका र युवाहरूका लागि धार्मिक शिक्षा, शील र साधना सम्बन्धी कार्यक्रमहरू पनि समावेश गरिनेछ। भक्तजनहरूले धार्मिक ग्रन्थ प्रदर्शनी, फोटो ग्यालरी, कीर्तन, त्रिकाल सन्ध्या, आरती लगायतका कार्यक्रमहरूमा पनि सहभागी भई आत्मज्ञान र पुण्य लाभ प्राप्त गर्न सक्ने आयाेजकले जनाएकाे छ ।
राष्ट्रिय व्यक्तित्व एवम् कलाकार समन्वय तथा व्यवस्थापन समितिकी संयोजक राधिका हमालका अनुसार महायज्ञ केवल धार्मिक आस्था मात्र नभइ सामाजिक सेवाको एउटा गतिशील माध्यम पनि हो। महायतज्ञले धर्मसँगै पीडित, अनाथ, बेसहारा र वृद्ध नागरिकहरूको जीवनमा उज्यालो ल्याउने उनकाे विश्वास छ।








