२० मंसिर २०८२, शनिबार

मौसमजन्य विपदबाट जोगिन तथा सजग रहन प्रधानमन्त्रीको आह्वान

प्रकाशित मिति :  20 July, 2025 11:48 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर सम्भावित मौसमजन्य विपदबाट जोगिन आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

हाल देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेका कारण उनले अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सम्पूर्ण जनतासँग अनुरोध गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत देशवासीलाई सचेत गराउँदै सन्देश दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।”

प्रधानमन्त्रीले जारी गर्नुभएको यो आग्रह विशेषगरी पहाडी र तराई क्षेत्रमा बाढी, पहिरो तथा डुबानको सम्भावनालाई ध्यानमा राखी गरिएको हो । विगत वर्षहरूमा मनसुनका बेला धेरै स्थानमा जनधनको क्षति भइसकेको सन्दर्भमा यस वर्षको मौसममा पनि उच्च सावधानी आवश्यक देखिएको छ ।

साथै, प्रधानमन्त्रीले विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

मौसम विज्ञान विभागले भनेको अनुसार असारको अन्तिम र साउनको सुरुआती साता अत्यन्त संवेदनशील हुने हुँदा प्रदेश तथा स्थानीय तहका सबै निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जनताको जीवनरक्षा र सुरक्षित बसोबासलाई प्राथमिता दिँदै सरकारले आवश्यक आपतकालीन तयारीका योजनाहरू पनि सक्रिय पार्न थालेको बताइएको छ ।

बाढी–पहिरोको जोखिम भएका स्थानहरूमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा निगरानी बढाइएको छ ।

विपद् व्यवस्थापनमा जनताको सहयोग र सतर्कता अत्यावश्यक हुने भन्दै प्रधानमन्त्री ओलीले सबैलाई समयमै सतर्कता अपनाउन, सरकारी सूचनालाई गम्भीरतापूर्वक लिन र अनावश्यक जोखिम नमोल्न अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !