१९ मंसिर २०८२, शुक्रबार

घोराहीमा ‘कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेट’ सञ्चालन : पर्यटन विकासमार्फत् समृद्धिको बाटो-मन्त्री न्यौपाने

प्रकाशित मिति :  25 July, 2025 7:10 pm


दाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले नेपालमा समृद्धिको सम्भावना पर्यटन क्षेत्रको विकासमा रहेको बताएका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१५ शिवबस्ती टोलमा स्थापित ‘कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेट’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशमा धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय गन्तव्यहरू प्रशस्त रहेका कारण पर्यटन क्षेत्रको योजनाबद्ध विकासमा राज्यले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

“समृद्धिको ढोका पर्यटनबाटै खोल्न सकिन्छ,” मन्त्री न्यौपानेले भने, “तर सरकारले लगानीमैत्री वातावरण बनाउन ढिलाइ गरेकाले स्थानीयस्तरमा अघि बढेका प्रयासहरू अझै गति लिन सकेका छैनन् ।” उनले विशेषगरी युवाहरूको लगानीलाई सुरक्षित गर्ने वातावरण बनाउन राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।

नवीन सोच, प्रविधि र गुणस्तरयुक्त सेवाको संयोजनसहित युवाहरूले सञ्चालनमा ल्याएको कौशीले वर्तमान बजारको मागलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै मन्त्रीले होटल खुलेपछि मान्छे आकर्षित गर्ने र आगन्तुकलाई टिकाउने पूर्वाधार निर्माणमा पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले होटल व्यवसायमार्फत् रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत र पूँजीको एकीकृत प्रयोगले स्थानीय अर्थतन्त्रमा चलायमानता ल्याउने विश्वास व्यक्त गरे । “स्थानीय सरकार सेवा प्रवाहमा सहजीकरण गर्न तत्पर छ,” उनले भने ।

दाङ देउखुरी होटल व्यवसायी समिति अध्यक्ष ईश्वर बुढाले कौशी रेष्टुरेन्टको सुरुआतले दाङको होटल उद्योगमा नयाँ इँट्टा थपेको भन्दै यसले क्षेत्रीय आर्थिक वृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । होटल व्यवसायी ओबिन्द्र महराले पनि पर्यटन पूर्वाधार निर्माणमा सरोकारवालाको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले राज्यले होटल व्यवसायजस्ता उद्योगमा युवालाई लगानीमैत्री वातावरण दिनुपर्ने आवश्यकता औँल्याए । “युवाहरूले गरिरहेको प्रयासमा राज्यको साथ हुनु अत्यावश्यक छ,” उनले भने ।

कार्यक्रममा ८ जना युवाहरूको सामूहिक लगानीमा स्थापना गरिएको कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटमार्फत रेष्टुरेन्ट, क्याफे र बेन्क्वेट सेवा एकैथलोबाट प्रदान गरिने जानकारी दिइएकाे थियो।

संचालक रोशन दाहाल, मिनराज भाट, रजिव उल्लाह खान, मिनेश श्रेष्ठ, माधव पौडेल, किरण श्रेष्ठ, कपिल बर्मा र आशिष रानाको संयुक्त लगानीमा करिब २ करोड लागतमा सञ्चालनमा ल्याइएको कौशीमा ४ सय जनाको क्षमतायुक्त प्रविधिसम्पन्न बेन्क्वेट हल, पारिवारिक तथा शान्त वातावरण र सहुलियत दररेटमा गुणस्तरीय सेवा उपलब्ध रहेको बताइएको छ। कार्यक्रम रजिव उल्लाह खानको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण मिनराज भाटले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !