१९ मंसिर २०८२, शुक्रबार

फोहोरलाई मोहरमा बदल्दै घोराहीका युवाहरु

फोहोरमाथि उदाएको उद्यमले घोराहीमा फैलाउँदैछ सम्भावनाको सुगन्ध
प्रकाशित मिति :  26 July, 2025 10:28 am


दाङ । दाङको घोराही उपमहानगरपालिकामा तीन युवाले सुरु गरेको सानो सोच आज एक सफल व्यवसायमा रूपान्तरण भएको छ । फोहोरमैलालाई उपयोग गर्दै वातावरण संरक्षणको लक्ष्य बोकेर सुरु गरिएको व्यवसायले अहिले सामाजिक रूपान्तरणको मिसाल बनेको छ ।

तीन जनाबाट सुरु भएको निर्मल क्लिननेस प्रा.लि. मा अहिले दशजना युवाहरु जोडिएका छन् । स्वच्छ र हराभरा नगर स्थापनामा सहयोगी बन्ने लक्ष्यका साथ स्थापना भएको उद्योगमा ५० लाख लगानी पुगेको प्रालिका म्यानेजिङ डाइरेक्टर ढकराज सुवेदीले जानकारी दिए ।

प्रारम्भमा ३० लाख रुपैयाँ लगानीबाट उद्योग सुरु गरिएको भन्दै सुवेदीले लगानी बढ्दै गइरहेको जानकारी दिए । घरघरमा गएर प्लास्टिकजन्य फोहोर संकलन गरेर ल्याउने र त्यसलाई पुनःप्रयोगमा ल्याउनेगरी व्यवस्थापन गरिरहेको प्रबन्ध निर्देशक सुवेदीले जानकारी दिए ।

सुरुमा होटेलजन्य उद्योगका लागि सरसफाइजन्य सामग्री बिक्री गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको भन्दै सुवेदीले कालान्तरमा उद्योगको स्वरुप बदलिँदै फोहोर व्यवस्थापनसम्म पुगेको जानकारी दिए ।

“हामीले सुरुमा फिनाइल, हर्पिक, डिटोलजस्ता सामग्री बिक्री गर्नका लागि उद्योगको स्थापना गरेका थियौं । पछि यी सामग्री आफै उत्पादन सुरु गर्यौं”, सुवेदीले भने, “उद्योगमा उत्पादित सामग्री भण्डारणका लागि प्लास्टिकका बोतल संकलन थाल्यौं, कालान्तरमा उद्योगले सबैखालका प्लास्टिक संकलन गरेर त्यसलाई बिक्री बितरण थालेका छौं ।”

उद्योगले हर्पिक, फिनाइल, डिटोलजस्ता सरसफाइजन्य उत्पादनहरू उत्पादन गर्न थालेको छ, जुन अहिले स्कुल, कलेज, अस्पताल तथा होटलहरूमा नियमितरूपमा बिक्री भइरहेका छन् ।

व्यवसायको मूल सोच प्लास्टिक व्यवस्थापन गर्नु नै रहेको भन्दै सुवेदीले भविष्यमा फोहोरबाट नयाँ बस्तु उत्पादन गर्नु रहेको जानकारी दिए । “बाहिरबाट ल्याएर बेच्नुभन्दा आफै उत्पादन गर्ने सोचले हामीहरूलाई उत्पादनतर्फ मोड्यो । बजारमा फोहोरले समस्या बढाउँदै गर्दा उनीहरूले प्लास्टिकका बोतलहरू संकलन गर्न थाल्यौं र ती रिसाइकल गरेर आफ्नो उत्पादनका लागि कच्चा पदार्थको स्रोत बनाउन थालेका छन्”, सुवेदीले भने ।

प्लास्टिक व्यवस्थापन गर्ने सोचका साथ युवाहरुले सुरु गरेको उद्योग अनुगमन गर्न पुगेका घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले युवाहरुको अभियानलाई स्थानीय सरकारले महत्वका साथ लिएको जानकारी दिए । नगरप्रमुख चौधरीले वातावरण संरक्षणका लागि गरिएका यी प्रयासको खुलेर प्रशंसा गरे ।

“उपमहानगरपालिकाले यस्तो नवप्रवर्तनशील सोच र व्यवसायलाई प्रोत्साहन गर्छ”, नगरप्रमुख चौधरीले भने, “फोहोरलाई मोहोरमा बदल्ने अभियानले सहरलाई सफा मात्र बनाउने होइन, रोजगारी पनि सिर्जना गर्नेछ । उपमहानगरपालिका यो अभियानसँग हातेमालो गर्न तयार छ ।”

उनले फालिएका प्लास्टिकबाट ब्लक निर्माण उद्योग सञ्चालन भइसकेकाले ती उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउने उद्योगका रुपमा लागिपर्ने आग्रह गरे । प्लास्टिकको अनियन्त्रित प्रयोगले वातावरण र मानव स्वास्थ्यमा पारेको असरलाई दृष्टिगत गर्दै सबै पक्ष मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता उनले औंल्याए ।

टोल विकास संस्थासँग मिलेर प्लास्टिक संकलन अभियान सञ्चालन गर्न नगरप्रमुख चौधरीले सुझाए । उपमहानगरपालिकाले अहिले गल्ने र नगल्ने फोहोर छुट्याएर संकलन गरिरहेको सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए ।

उपमहानगरपालिकाले फोहोरबाट ग्याँस र मल उत्पादन गर्न थालेको भन्दै उनले स्टिमेटअनुसार पर्याप्त फोहोर नपुगेकाले ग्याँस प्लान्टको सञ्चालनमा समस्या आइरहेको जानकारी दिए ।

राँगा र बंगुरको बधशालाको व्यवस्थापनमा पनि नगरले ध्यान दिन थालेको उनले जानकारी दिए । बजारदेखि बाहिर उद्योगसम्म पुग्ने संरचना निर्माणमा उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले जनाए । सरकारले निजी क्षेत्रलाई व्यवसायमुखी वातावरण बनाउनुपर्नेमा उनले बताए ।

यी सबै प्रयासले एउटा कुरा प्रष्ट देखाउँछ-सहरमा फोहोर व्यवस्थापन केवल फोहोर संकलनको काम मात्र होइन, यो रोजगारी सिर्जना, वातावरण संरक्षण र नवप्रवर्तनशील उद्यमशीलताको संगम हो । युवा उद्यमको उदाहरणले सकारात्मक सोच भए सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव भन्ने देखाउँछ ।

अहिले यो अभियानले नयाँ मोड लिएको छ–पुनःप्रयोग, रिसाइकल र नवप्रवर्तनका माध्यमबाट पर्यावरणीय जिम्मेवारी बोकेको व्यवसायिक सफलताको मोडल । यही बाटो हुँदै घोराही उपमहानगरपालिका “नमुना सहर” को दिशामा अगाडि बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !