१९ मंसिर २०८२, शुक्रबार

निर्मला पन्त प्रकरण : न्यायको प्रतीक्षामा सात वर्ष

प्रकाशित मिति :  27 July, 2025 8:30 am


दाङ । २०७५ सालको साउन ११ गते, नेपालका नागरिकका लागि सामान्य दिन थिएन । कञ्चनपुरको महेन्द्रनगरस्थित उखुबारीमा एक १३ वर्षिया बालिकाको निर्जीव शरीर भेटियो-जसको नाम थियो निर्मला पन्त ।

साउन १० गते दिउँसो साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला घर फर्किन सकिनन् । त्यसको भोलिपल्ट बिहानै, स्थानीयहरूले देखेको त्यो दृश्यले सम्पूर्ण देशलाई झस्कायो-त्यो कुनै सामान्य मृत्यु थिएन, त्यो एक दर्दनाक बलात्कारपछि हत्या थियो ।

एक राष्ट्रलाई झस्काउने अपराध
निर्मलाको बलात्कारपछि हत्या गरिएको तथ्य खुलेपछि, सम्पूर्ण देश आक्रोशित बन्यो । महिलामाथिको हिंसाका घटना नेपालमा नयाँ थिएनन् तर यो घटना फरक थियो-निर्मला एक बालिका थिइन्, निर्दोष थिइन् र उनका निम्ति न्याय माग्नेहरू लाखौं थिए ।

स्थानLयवासी, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दबाबका बीच सरकारले छानबिन समिति गठन गर्‍यो तर घटनामा दोषी पत्ता लगाउने वा न्याय दिलाउने प्रक्रियाले अपेक्षित गति लिन सकेन ।

प्रहरीमाथि नै संलग्नताको आरोप
निर्मलाको शव भेटिएको केही समयमै, स्थानीयहरूले प्रहरीमाथि नै अपराध लुकाउने र वास्तविक दोषीलाई जोगाउने प्रयास गरेको आरोप लगाए । प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले तथ्य लुकाएको, घटनास्थलको फोरेन्सिक प्रमाणहरू नष्ट भएको, र अनुसन्धानमा चरम लापरवाही देखाएको आरोपहरू लागे ।

एक महिनापछि प्रहरीले भीमदत्त नगरपालिका–१९ का ४१ वर्षिय दिलीपसिंह विष्टलाई सार्वजनिक गर्दै उनलाई अपराधीको रूपमा देखायो तर केही समयमै खुल्यो-विष्ट मानसिक रूपले अशक्त थिए र घटनामा संलग्न भएको कुनै प्रमाण थिएन । प्रहरीको यो कदमले झनै आक्रोश फैलियो ।

आन्दोलन र आक्रोश
विष्टको गिरफ्तारीपछि सुरु भएको आन्दोलनले कञ्चनपुरदेखि काठमाडौँसम्म चुलिएको थियो । स्थानीयहरूले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरे । प्रहरीको गोली लागेर एक युवकको मृत्यु पनि भयो ।

सरकारले भदौ ७ गते विशेष छानबिन समिति गठन गर्‍यो । समितिको प्रतिवेदनमा प्रहरी अनुसन्धानप्रति गम्भीर प्रश्न उठाइयो । राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाको छानबिनमा प्रहरीको कार्यशैली अस्वीकार्य रहेको निष्कर्ष दिएको थियो ।

अनुसन्धान तर न्याय अझै अधुरो
सात वर्ष बितिसक्दा पनि अपराधी को हुन् भन्ने विषयमा प्रहरी अझै अन्योलमै छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म १२४ जनाको डिएनए परीक्षण गरिएको छ र ६५५ जनासँग सोधपुछ भइसकेको छ ।

अनुसन्धानमा १० भन्दा बढी टोली परिचालित भएका छन् तर अपराधीको पहिचान वा ठोस प्रमाणको अभावले घटना अझै अबुझ पहेलीझैँ रहँदै आएको छ ।

निर्मला पन्त कुनै उच्च घरानाको नाम होइन, उनी कुनै राजनीतिज्ञ, अधिकारी, वा सेलेब्रिटी पनि थिइनन् । उनी एक सामान्य बालिका थिइन्-जसले सपनाहरू देख्थिन्, पढ्थिन्, खेल्थिन् तर उनीमाथि भएको अन्यायले आजसम्म देशका आम नागरिकलाई झस्काइरहेको छ ।

सात वर्षसम्म न्याय नपाउनु आफैँमा ठूलो विडम्बना हो । निर्मला पन्त बलात्कार तथा हत्याकाण्ड केवल एक अपराधिक घटना होइन, यो राज्यप्रणाली, प्रहरी अनुसन्धान, न्यायप्रणाली र शासनप्रणालीको परीक्षाको विषय हो ।

समाजले अझै पनि एकै स्वरमा सोधिरहेछ-निर्मलालाई बलात्कार र हत्या गर्ने अपराधी कहिले पक्राउ पर्छन् ? उनीहरूलाई कहिले सजाय दिइन्छ ? अनि हामीले कहिले भन्न सक्नेछौं-अब निर्मलाले न्याय पाइन ?

जबसम्म यो प्रश्नको जवाफ पाइँदैन, तबसम्म निर्मला मात्र होइन, सम्पूर्ण नेपाली नारी समाज अन्यायमा बाँधिनेछ । यही सत्य होर हामी सबै यसको साक्षी हौं ।



प्रतिक्रिया दिनुहोस !