वडाध्यक्षकै घरबाट ठूलाे परिमाणमा अवैध काठ बरामद
देउखुरी । दाङकाे गढवा गाउँपालिका–७ का अध्यक्ष राहुलदेव चौधरीको घर आँगनबाट अवैध रूपमा काटिएको ५८ क्युफिट काठ बरामद भएको छ।
सव डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा वडाध्यक्षको घरमा छापा मारेको थियो । छापा मार्दा घरको आँगनमै साल र सिसौं जातको काठ चिरान भइरहेको भेटिएको सव डिभिजन वन कार्यालय गढवाका सहायक वन अधिकृत यमप्रसाद गैरेले जानकारी दिए ।
“हामीलाई वडाध्यक्षकै संलग्नतामा अवैध काठ चिरान भइरहेको सूचना आएको थियो,” गैरेले भने, “छापा मार्दा काठ चिरानकै क्रममा भेट्यौं । उहाँले खोलाले बगाएर ल्याएको काठ भएको दाबी गर्नुभयो तर प्रमाण देखाउन सक्नुभएन ।”
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले पनि वडाध्यक्षको घरबाट काठ बरामद भएको पुष्टि गरेका छन् । “काठ चिरानमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही हुन्छ,” उनले भने । बरामद गरिएको काठ अहिले सव डिभिजन वन कार्यालय गढवामा राखिएको छ ।








