१९ मंसिर २०८२, शुक्रबार

किशोरीको हत्या आरोपमा एक पक्राउ

प्रकाशित मिति :  31 July, 2025 6:43 pm


काठमाडाैँ । जनकपुरधाम उपमहानगरपालिका–४मा खुकुरी प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । उनलाई साउन १४ गते राति साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पक्राउ परेका अभियुक्त साहलाई बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियुक्त साहले गत साउन १२ गते राति करिव साढे ११ बजे आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी अञ्जलीको उपचारको क्रममा साउन १३ गते राति साढे १२ बजे मृत्यु भएको थियो भने मृतककी आमा आशा यादवको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

राधा यादव उपचार पश्चात घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । 

रामबाबुले यसअघि पनि आफ्नी श्रीमतीको हत्या आरोपमा ५ वर्ष जेल सजाय भोगिसकेका छन् । २०७७ मा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र आशा यादवसँग नजिकिएका थिए ।

चिनजानपछि उनीहरू जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । तर पछिल्लो समय आशाले रामबाबुसँगको सम्बन्ध तोड्ने प्रयास गरेपछि रामबाबुले आक्रोशमा आएर घटना घटाएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।



प्रतिक्रिया दिनुहोस !