२४ मंसिर २०८२, बुधबार

एमाले फुटाउने नेताहरू पश्चातापमा छन्-महासचिव पोखरेल

प्रकाशित मिति :  1 August, 2025 8:28 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले विभाजन गर्ने नेताहरू अहिले पश्चातापमा रहेको दाबी गरेका छन् ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पार्टी फुटाएर नयाँ विकल्प खोज्ने नेताहरू निराश र हतास भएको बताए ।

“जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठानेका थिए, आज उनीहरूमा हतासा र निराशा देखिएको छ,” पोखरेलले भने, “कतिपय नेताहरूले खुलेरै पार्टी फुटाउनु गल्ती थियो भन्ने अभिव्यक्ति दिन थालेका छन् भने केही नेताहरूले अब पार्टी चलाउन सकिँदैन भन्न थालेका छन् ।”

पोखरेलले विभाजनका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टीमा सीमित हुनुपरेको बताए । उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेताहरूलाई पुनः एमालेमा फर्किन आह्वान गरे ।

“नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा अडिग रहनुपर्छ,” पोखरेलले भने । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेसागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंह, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा र उपसचिव उमेश बस्नेतलाई एमालेमा प्रवेश गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस !