२७ कार्तिक २०८२, बिहिबार

विकासको गतिमा ओली सरकार : अधुरा काम पूरा गर्ने प्रतिबद्धता

प्रकाशित मिति :  2 August, 2025 10:20 am


काठमाडाैँ । सरकार गठन भएको एक वर्ष पूरा हुन नपाउँदै देशका ठुला पूर्वाधार आयोजनाहरूले गतिशीलता लिन थालेका छन् । ‘थालेका काम सक्ने’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता केवल नारामा सीमित नभई व्यवहारमा देखा पर्न थालेको छ।

प्रधानमन्त्री ओलीको सक्रिय नेतृत्व र नियमित अनुगमनका कारण विगतमा रोकिएका वा ढिलासुस्ती भएको आयोजनामा नयाँ ऊर्जा प्रवाहित भएको छ।

अधुरा सडकमा नयाँ जीवन
विगतमा विवाद, बजेट अभाव र रुख कटानजस्ता कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजना अहिले गति लिन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नियमित अनुगमन र ‘फलोअप’लाई प्राथमिकतामा राखेपछि मुग्लिङ–पोखरा सडक (पूर्वी खण्ड) अब सम्पन्न हुने चरणमा पुगेको छ। यसैगरी, लामो समयदेखि ठप्प अवस्थामा रहेको कमला–कञ्चनपुर सडकखण्डमा ६६ प्रतिशत प्रगति हासिल भएको छ ।

नारायगढ–बुटवल सडकखण्डमा अघिल्लो सरकारका पालामा ठेक्का तोड्ने अवस्था आएको थियो तर प्रधानमन्त्री ओलीको पहलपछि अहिले यस खण्डको निर्माण कार्य ७० प्रतिशतभन्दा बढी पूरा भएको छ ।

द्रुतमार्गदेखि करिडोरसम्म
देशको विकास यात्रामा महत्वपूर्ण मानिएको काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रगति गत वर्ष ३५ प्रतिशतमा सीमित थियो । अहिले भने यो ४२.१३ प्रतिशतमा पुगेको छ ।

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही खण्डमा उल्लेखनीय प्रगति भएको छ, जहाँ पूर्वी खण्ड ६ प्रतिशतबाट २२.१२ प्रतिशत र पश्चिम खण्ड ४.७ प्रतिशतबाट २२.१ प्रतिशतमा पुगेको छ ।

यस्तै, नागढुङ्गा सुरुङमार्ग ६६ प्रतिशतबाट ९२.५ प्रतिशत, सिद्धबाबा सुरुङमार्ग सडक १६ प्रतिशतबाट ५८.३ प्रतिशतमा पुगेका छन् । कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला, र तमोर करिडोरजस्ता परियोजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् ।

नयाँ आयोजनामा प्रारम्भिक सफलता
हालसालै मात्र सुरु गरिएका कमला–ढल्केबर–पथलौया सडक र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकमा क्रमशः १०.९१ र १२.२३ प्रतिशत प्रगति भएको छ । लामो समयदेखि अन्योलमा रहेका यी आयोजनाहरूलाई प्रधानमन्त्री ओलीको चासो र विशेष अनुगमनले गति दिएको हो ।

मुलुकभर सडक सञ्जाल विस्तार
सरकारले पूर्व–पश्चिम राजमार्गलाई आठ मुख्य खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइरहेको छ । यसैगरी, उत्तर–दक्षिण लोकमार्गलाई प्राथमिकतामा राख्दै हुम्लालाई राष्ट्रिय सडक पहुँचमा जोडिएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा सुरु गरिएको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अभियानअन्तर्गत मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा उल्लेखनीय प्रगति भएको छ। हुलाकी राजमार्गले मात्रै हालसम्म ७३ प्रतिशत कार्यप्रगति हासिल गरेको छ ।

प्रविधिमैत्री पूर्वाधार
ओली सरकारको कार्यकालमा नेपाल सुरुङमार्ग प्रविधिमा प्रवेश गरेको हो । नागढुङ्गा सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने तयारीमा छ भने प्राविधिक चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरुङमार्गमा ५८ प्रतिशत काम सम्पन्न भइसकेको छ । ग्वार्को फ्लाइओभर सम्पन्न गर्दै सरकारले अब यस प्रविधि अन्य सहरमा विस्तार गर्ने तयारी गरेको छ ।

हालसम्म सरकारले मुलुकभर थप ९३२ किमी सडक कालोपत्रे गरेको छ। अघिल्लो सरकारको पालामा यो संख्या ६५७ किमीमा सीमित थियो। यसबाट सरकारको प्राथमिकता पूर्वाधारमैत्री कार्यनीतिमा रहेको स्पष्ट हुन्छ।

विगतमा अधूरा र विवादित रहेकाहरूमा काम अघि बढाउँदै सरकारले विकास र निर्माणको गति पुनर्जीवित गरेको छ। सडक, सुरुङमार्ग र करिडोरमा भएको उल्लेखनीय प्रगति केवल सरकारको प्रतिबद्धता मात्र नभई परिणाममुखी शासन शैलीको प्रमाण हो ।

प्रधानमन्त्री ओलीले बारम्बार दोहोर्‍याउँदै आएको वाक्य छ–“थालेका काम सक्ने हो ।” विगत एक वर्षको उपलब्धिले यो वाक्यलाई ठोस प्रमाणसहित पुष्टि गर्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस !