२३ मंसिर २०८२, मंगलबार

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ अघि बढ्नुपर्छ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  2 August, 2025 7:42 pm


ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका आदर्शलाई आत्मसात् गर्दै उनीहरूले देखाएका सङ्कल्पहरू पूरा गर्न आजको पुस्ताले दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सच्चा समर्पण र अडान आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, “तुल्सीलालले देखाउनुभएको निष्ठा र त्यागको राजनीतिका आदर्शलाई पछ्याउँदै नयाँ पुस्ताले राष्ट्र निर्माणको यात्रामा अविचलित रहनुपर्छ ।”

प्रधानमन्त्री ओलीले संविधानसभाबाट गणतन्त्र स्थापना हुनु अग्रज नेताहरूको दूरदृष्टिको परिणाम भएको स्मरण गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबै दल र नेतृत्व जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा प्रा. श्यामसुन्दर शेर्पाद्वारा लिखित ‘बुद्धका विचार’ पुस्तकको विमोचन समेत गरिएको थियो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानले हरेक वर्ष तुल्सीलाल अमात्यको स्मृति दिवसलाई वामपन्थी आन्दोलनका सिद्धान्त, मूल्य र योगदानप्रति पुनःप्रतिबद्धता जनाउने अवसरका रूपमा मनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !