अविरल वर्षाका कारण गुल्मीका तीन प्रमुख सडक अवरुद्ध
गुल्मी । अविरल वर्षापछि गएरातिदेखि गुल्मीका तीन प्रमुख सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडकखण्डमा पहिरो र बाढीका कारण आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
कालीगण्डकी करिडोर सडक कालीगण्डकी गाउँपालिका–१ को गरगरे, वडा नं–२ को मिल्क र वडा नं–३ को कनौटामा पहिरो खस्दा अवरुद्ध भएको हो । यस्तै, रिडी–तम्घास सडकखण्ड रुरुक्षेत्र गाउँपालिका–३ को सल्लेरीमा पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको छ ।
रिडी–वामीटक्सार सडकखण्डमा पनि सत्यवती गाउँपालिका–६ को डहरे खोला र वडा नं–५ को बादरेभीरमा बाढी र पहिरोका कारण सडक बन्द भएको छ । प्रहरीले लगातार वर्षा भइरहेकोले तत्काल सडक सुचारु गर्न कठिन भएको जनाएको छ ।
बारम्बार पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा निकै प्रभावित बनेका छन् । यसैबीच बडिगाड खोलाको पानीको सतह पनि बढ्दै गएको छ, जसले जोखिम अझै बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी किनार र पहिरो प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले करिब दुई सयभन्दा बढी स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा सूचीकृत गरेको छ।








