बाराकाे काँटघाट महादेव मन्दिरमा भक्तजनको घुइँचो
काठमाडाैँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने काँटघाट महादेव मन्दिर (सहजनाथ महादेव) मा साउन महिनामा विशेष मेला लागेको छ ।
दुई सय वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर प्रमुख शिवालयहरूमध्ये एक हो । यहाँ प्रत्येक बर्षको साउन महिनाभर मेला लाग्ने गरेको छ ।
काँटघाट महादेव मन्दिर दर्शन गर्नको लागि आन्तरिक मात्रै नभई भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन् । यहाँ मनले मागेको कामना पूरा हुने जनविश्वास रहेको छ । यही आस्थाका कारण विशेष गरी भारतका सीमावर्ती क्षेत्रहरूबाट पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
मन्दिरमा सन्तान प्राप्तिको कामना, घरपरिवारको सुख(शान्ति र समृद्धिका लागि भक्तजनहरू दर्शनार्थ आउने गर्दछन् । विशेषतः साउन महिनाको आईतवार र सोमवार मन्दिरमा ठूलो भीड लाग्ने गर्छ । मन्दिरका पुजारीकाअनुसार सोमवार मात्रै झन्डै ५० हजार भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका छन् ।
पछिल्ला वर्षहरूमा काँटघाट महादेव मन्दिर तराई क्षेत्रका बोलबम यात्रुहरूको प्रमुख गन्तव्य बनेको छ । बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर लगायतका जिल्लाबाट श्रद्धालुहरू वागमती नदीबाट ३७ किलोमिटर पैदल यात्रा गरी पवित्र जल ल्याएर मन्दिरमा अर्पण गर्ने गर्दछन् । एक महिना अघिदेखि नै शुद्ध सात्विक बनेर यात्रा प्रारम्भ गर्ने भक्तजनहरू काँटघाँट मन्दिरमा जल चढाउने परम्परालाई निरन्तरता दिंदै आएका छन् ।
सहजनाथ महादेवलाई स्थानीयवासीहरू ‘जङ्गली बाबा महादेव’ को नामले समेत पुकार्ने गरेका छन् । किंवदन्तिअनुसार सत्ययुगमा भगवान शिवले यही चारकोसे झाडीको क्षेत्रमा सहजरूपमा वनविहार गरी विश्रामको मान्यता रही आएको छ । त्यसै कारण यहाँका बासिन्दाहरूले यो स्थललाई पवित्र मानी पूजाआजा गर्दै आएका छन् ।
राजमार्गबाट झन्डै ४ किमी दक्षिणतर्फ घना जङ्गलको मध्यभागमा रहेको यो मन्दिर धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरभित्र गणेश, बसाहा, राम–सीता, राधाकृष्ण, भैरवनाथ, हनुमान लगायतका पुरातात्त्विक मूर्तिहरू रहेका छन् ।
साथै, एक बिघा क्षेत्रफल ओगटेको पोखरीले मन्दिरको प्राकृतिक सौन्दर्यमा थप निखार ल्याएको छ । धार्मिक आस्था, ऐतिहासिक महत्व, र प्राकृतिक वातावरणको संगम रहेको काँटघाँट महादेव मन्दिर साउन महिनामा शिवभक्तहरूको आस्थाको केन्द्र बन्दै आएको छ ।








