अलपत्र सडक निर्माण सम्पन्न गर्न माग गर्दै गढवा गाउँपालिकाका पूर्व अध्यक्ष काठमाडौँमा धाउँदै
काठमाडाैँ । नको निर्माण कार्य अधुरै छ । धुलो र हिलोमा हराउँदै गएको विकासको सपना, असुविधाले थिचिएका स्थानीय बासिन्दा र उपेक्षित सडक योजनाको पीडा अहिले राजधानीसम्म गुन्जिन थालेको छ । यही पीडाले गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहजराम यादवलाई काठमाडौँ धकेलेको हो ।
पूर्व अध्यक्ष यादव हाल काठमाडौँमा सडक निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निकायसँग निरन्तर भेटघाट र दबाब दिँदै छन् । लामाे समयसम्म सडक निर्माण कार्य अलपत्र परेपछि सडककाे मुद्दा बाेकेर काठमाडाैँसम्म आइपुगेकाे यादवले जानकारी दिए ।
नेकपा (एमाले) को पार्टी कार्यालय च्यासलमा भेटिएका पूर्व अध्यक्ष यादवले अलपत्र सडकका कारण नागरिकले सास्ती बेहाेर्न थालेपछि सडक विभागसहितका सराेकारवाला निकायमा पुगेर ध्यानाकर्षण गराएकाे जानकारी दिए ।
राजधानीमै पहल
पूर्व अध्यक्ष यादवले हालै सडक विभागका उपमहानिर्देशक इञ्जिनियर प्रभातकुमार झासँग भेटेर स्पष्ट माग राखे, “पटक–पटक म्याद थपेर पनि सडक निर्माण नगरेको बज्रगुरु कान्छाराजा जेभीसँग ठेक्का तोडियोस् र नयाँ ठेक्का प्रक्रियाबाट काम अघि बढाओस् ।”
उनको दबाबलाई गम्भीरतापूर्वक लिँदै उपमहानिर्देशक झाले भने, “हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का तोड्ने सिफारिस आइसकेको छ । अब विभाग यो विषय टुंगोमा पुर्याउन प्रतिबद्ध छ ।”
यससँगै यादवले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेट गरी राजनीतिक तहमा पहल बढाए । पोखरेलले सडक विभागका महानिर्देशक डा. विजय जैशीलाई टेलिफोन गरेर लामो समयदेखि अलपत्र सडकलाई नयाँ ठेक्का प्रक्रियाबाट अघि बढाउन आग्रह गरे । महानिर्देशक जैशीले पनि तत्कालीन समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
पाँच वर्षको अधूरो कथा
२०७७ सालमा करिब ६७ करोड रुपैयाँमा ठेक्का गरिएको वनघुस्री–गढवा सडक २०७९ सालसम्ममा सम्पन्न गर्ने लक्ष थियो तर ठेकेदार कम्पनीले म्याद थप्दै समय व्यर्थ पार्दा सडक अधुरो रह्यो ।
हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख कुवेर नेपालीका अनुसार, “हालसम्म केवल ४० प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । बैशाखमै सम्झौता तोड्ने सिफारिस विभागमा पठाइसकेका छौँ । तेस्रो पटक पठाउँदा मात्र प्रक्रिया अगाडि बढेको हो ।”
यसबीच, सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले भने प्राविधिक समस्या र स्रोतको कमीलाई कारण देखाउँदै ढिलाइ भएको दाबी गरेको बताइन्छ तर स्थानीय जनताले यसलाई ‘बहाना’ मात्र भएको आरोप लगाउँदै तत्काल ठेक्का तोड्न माग गरिरहेका छन् ।
सडक निर्माण अलपत्र हुँदा गढवा क्षेत्रमा आवतजावत गर्न कठिन छ । वर्षायाममा सडक हिलाम्मे हुन्छ, सुक्खा समयमा धुलोले वातावरण प्रदूषित हुन्छ । पूर्व अध्यक्ष यादव नागरिककाे पीडालाई आवाज दिएर भन्छन्, “सडक निर्माणको मुद्दा विकास मात्र होइन, जनताको सम्मान र अधिकारको सवाल हो । यो पटक हामी यो विषय टुंगोमा पुर्याएरै छाड्छौँ ।”
नयाँ आशा : सुपैला खोला पुल
सडकसँगै गढवा गाउँपालिकाको विकासका लागि अर्को महत्वपूर्ण परियोजना पनि अघि बढ्ने तयारीमा छ । गढवा वडा नं. ३ मा पर्ने सुपैला खोला पुल निर्माणको ठेक्का लाग्ने प्रक्रियामा पुगेको हुलाकी सडक आयोजनाका इञ्जिनियर श्रवण चौधरीले जानकारी दिए ।
यो पुल बनेपछि गढवा गाउँपालिकासहित आसपासका बस्तीहरूको यातायातमा सहजता आउने र आर्थिक गतिविधि बढ्ने स्थानीय व्यवसायीहरूको अपेक्षा छ ।
अब सडक विभागले बज्रगुरु कान्छाराजा जेभीसँगको सम्झौता तोडेर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने हो वा फेरि ढिलाइ हुने हो, यही सवालमा जनताको नजर केन्द्रित भएको छ ।
पूर्व अध्यक्ष यादव भने आशावादी छन् । “अब धेरै बहाना सुन्ने अवस्था छैन,” उनी भन्छन्, “जनताको दबाब बढ्दै गएको छ, यसपटक सडक बन्ने विश्वास छ ।”








