राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार, सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौँ । निरन्तर वर्षासँगै राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त क्षेत्रहरूमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले बबई र भेरी नदीको वर्तमान अवस्थाबारे जानकारी लिँदै सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
भट्टका अनुसार मंगलबार आकस्मिक बैठक बोलाउँदै कार्यवाहक प्रधानमन्त्रीले राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार गरिसकेको छ,भन्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीहरूलाई तत्कालै जोखिमयुक्त स्थानहरूमा परिचालन गर्न आदेश दिएका छन् ।
“आज राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अपेक्षाकृत बढी वर्षा हुने अनुमान छ,” कार्यकारी प्रमुख भट्टले भने, “जलस्तर बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै ती क्षेत्रका सबै नदीहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरिसकेका छौँ ।”
प्राधिकरणका अनुसार महाकाली र कर्णाली नदीमा पनि जलस्तर बढ्ने सम्भावना रहेकाले ती क्षेत्रका स्थानीय प्रशासनलाई सजग रहन आग्रह गरिएको छ ।
त्यस्तै, कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो राखेका थिए । भट्टका अनुसार सम्बन्धित जिल्लाका सिडिओहरूले त्यहाँको वस्तुस्थिति कार्यवाहक प्रधानमन्त्रीलाई जानकारी गराइसकेका छन् ।
यसैबिच, विपद् व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमका क्षेत्रहरूमा आम नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ ।








