तुर्कमेनिस्तानमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको सम्मेलन प्रारम्भ
तुर्कमेनिस्तान । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सोमबार तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । सम्मेलन यही २३ गतेसम्म चल्नेछ ।
उद्घाटन समारोहमा तुर्कमेनिस्तानका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूलाई स्वागत गरे ।
उद्घाटन सत्रमा महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरूले अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच बनाउन र विद्यमान चुनौतीहरू समाधान गर्न साझा प्रयास आवश्यक रहेको बताए ।
त्यस्तै, तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिण सहकार्यलाई मजबुत पार्दै संसदीय मञ्च, युवा र नागरिक सञ्जाललाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटन समारोहमा सम्बोधन गरेका थिए ।
सम्मेलनको ‘प्लेनरी’ सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरु भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली आजै सम्बोधन गर्ने कार्यक्रम छ। ओलीले अल्पविकसित मुलुक (एलडिसी) समूहको तर्फबाट समेत विचार राख्नेछन्।
यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखहरू तथा संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।
समुद्रमा प्रत्यक्ष पहुँच नहुँदा व्यापार र आर्थिक विकासमा कठिनाइ झेल्दै आएका भूपरिवेष्टित विकासशील मुलुकहरूका लागि तुर्कमेनिस्तानमा भइरहेको यो सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ।
प्रधानमन्त्री ओलीसँग प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतको टोली आवाजा पुगेको छ।








