सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी र स्थानीयबिच भएको झडपमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ । मृतक राजगढ गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादव रहेको प्रहरीले जनाएको छ ।
भारतीय सीमावर्ती क्षेत्रमा ठूलो मात्रामा मदिरा भण्डारण र तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले गए राति ‘सर्च अपरेशन’ चलाएको थियो ।
सो क्रममा प्रहरीले छापा मार्दा स्थानीयहरूले सुरक्षाकर्मीलाई घेरेर ढुङ्गामुढा गरेको र आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले चलाएको गोली यादवको तिघ्रामा लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘सर्च अपरेशन’ का क्रममा प्रहरीले राजगढ गाउँपालिका–२ स्थित नेपाल–भारत सीमाबाट विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ ।
यसअघि पनि चार दिन अघि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय रहेका छन् । प्रहरीले सीमा क्षेत्रमा मदिरा तस्करी र लागूऔषध नियन्त्रणका अभियानलाई थप कडाइका साथ अगाडि बढाउने जनाएको छ ।








