१९ मंसिर २०८२, शुक्रबार

नक्कली लेटरप्याड प्रयोग गरी विदेश सिफारिस गर्नेमाथि कारबाही गर्न काङ्ग्रेस राेल्पाकाे माग

प्रकाशित मिति :  6 August, 2025 12:00 pm


रोल्पा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी विदेश सिफारिस गर्ने गतिविधि बढेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जिल्ला कार्यसमितिका सभापति किशोरकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा पार्टीको साधारण सदस्य वा क्रियाशील सदस्य भएको दाबी गर्दै केही व्यक्तिहरूले द्वन्द्वकालमा माओवादी कार्यकर्ताबाट पीडित भएको र त्यसकै कारण नेपालमा बस्न नसकी जीवनरक्षाका लागि अमेरिकालगायतका मुलुकमा शरण लिन बाध्य भएको उल्लेख गर्दै गलत सिफारिस पेश गर्ने कार्य भइरहेको खुलासा गरिएको छ।

“पार्टीका नाममा गरिने यस्ता भ्रामक र कानुन विपरीतका कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिलाई रोक्न र सत्य तथ्य पत्ता लगाउन विदेशमा रहेका पार्टी जनसम्पर्क समिति र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कूटनीतिक पहल गर्ने प्रक्रिया अघि बढाइनेछ।”

सभापति आचार्यले यस्ता गलत सिफारिसमा संलग्नहरूलाई रोक्न सबै तहका पार्टी संरचना, विदेशस्थित नेपाली कांग्रेस जनसम्पर्क समिति र अन्य निकायसँग सहकार्य गरिने जानकारी दिए । साथै उनले यस प्रकारका क्रियाकलाप नगर्न र नगराउन सबैलाई आग्रहसमेत गरेका छन् ।

नेपाली कांग्रेस रोल्पाले सो विषयमा सम्बन्धित देशका नेपालस्थित राजदूतावासहरूलाई समेत आधिकारिक जानकारी गराउँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।

“पार्टीको छवि र विश्वासमा आँच आउने गरी गरिएका यस्ता गैरकानुनी कार्यको छानबिन गरी कारबाही गर्न हामी दृढ संकल्पित छौं,” आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !