२२ मंसिर २०८२, सोमबार

स्थानीय उत्पादनबाट रोजगारीको बाटो खुल्दै : देउखुरीमा महिला हस्तकला कपडा उद्योग मुख्यमन्त्रीद्वारा उद्घाटन

प्रकाशित मिति :  6 August, 2025 8:55 pm


लक्ष्मी पोख्रेल,
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी उत्पादन र हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

बुधबार लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको उद्घाटन गर्दै उनले स्वदेशी उत्पादनको प्रयोगलाई जीवनशैलीमा उतार्न सबैलाई आह्वान गरे ।

“बाहिरबाट कपडा आयात गर्नुको सट्टा स्वदेशमै बनेका कपडा प्रयोग गर्ने बानी बसाल्नुपर्छ । यसैबाट स्थानीय युवायुवतीका लागि रोजगारीको बाटो खुल्छ,” मुख्यमन्त्री आचार्यले उद्घाटन समारोहमा भने । “हाम्रा सीप र स्रोतलाई प्रवद्र्धन गर्न सके आयातमा निर्भर रहनु पर्दैन।”

व्यवसायी कृष्ण खनालद्वारा स्थापना गरिएको यस उद्योगमा हाल ३० जना स्थानीय महिला तथा पुरुष रोजगारीमा छन्। घरमै बस्ने महिलाहरू सिप सिकेर उद्योगमा आवद्ध भएपछि आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन् ।

उद्योग सञ्चालक खनालका अनुसार कपडा बुन्न प्रयोग हुने तान स्थानीय सामग्रीबाटै निर्माण गरिएको छ । “हामी महिलाहरूलाई तालिम दिएर धोती, सारी, ब्लाउज, सलजस्ता कपडा उत्पादन गरिरहेका छौं,” खनालले जानकारी दिए ।

उद्योगमा कार्यरत एक महिला श्रमिकले भनिन्, “घरमै बस्नुभन्दा सिप सिकेर यस्ता उद्योगमा काम गर्न पाउँदा आत्मसम्मान बढेको छ ।”

मुख्यमन्त्री आचार्यले यो उद्योग महिला सशक्तीकरण र स्थानीय स्रोतसाधनको सदुपयोगमार्फत क्षेत्रीय विकासको नमूना बन्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !