१९ मंसिर २०८२, शुक्रबार

‘ललितकलामा एआई’ विषयक कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  7 August, 2025 8:56 am


काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ‘ललितकलामा एआई’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेखक तथा पत्रकार अजय शर्माले प्रमुख प्रस्तुति दिएका थिए । उनले कृत्रिम बौद्धिकता (एआई) को पृष्ठभूमि, विकासक्रम, ललितकलामा यसको प्रयोग र सम्भावित प्रभावबारे व्यापक जानकारी प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले प्रस्तुतिप्रति टिप्पणी गर्दै एआई प्रविधिको तीव्र विस्तारले सिर्जना, मौलिकता र कलाको मूल्याङ्कन प्रणालीमा ल्याउने चुनौतीको बारेमा ध्यानाकर्षण गराए । उनले एआई जेनेरेटेड कलालाई स्पष्ट रूपमा वर्गीकरण गर्न आवश्यक रहेको बताउँदै यसबारे समयमै नीति निर्माण हुनुपर्नेमा जोड दिए ।

समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एआईको प्रयोगलाई समयसापेक्ष र व्यावसायिक दृष्टिकोणबाट ग्रहण गर्नुपर्ने बताए । उनले “एआईद्वारा सिर्जित कलाको स्पष्ट पहिचान र मानक विकास गरिएमा यसलाई ललितकलाको मूलधारमा स्थान दिन सकिन्छ,” भने ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रविधिको सकारात्मक उपयोगले सिर्जनशीलतालाई सघाउने धारणा राखे । उनले प्रविधिसँग सहकार्य गर्दै अघि बढेमा नेपाली ललितकलाको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले एआईको प्रयोगलाई उद्देश्यपूर्ण बनाउन गहिरो ज्ञान र स्पष्ट निर्देशन आवश्यक रहेको बताए । साथै, एआईद्वारा उत्पादित कलाको स्रोत र विश्वसनीयता सुनिश्चित गर्न चेतनशीलता आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरी, पत्रकार रमेश दाहाल, सुनील पौडेललगायतले एआईसँग सम्बन्धित विविध पक्षमा जिज्ञासा तथा विचार राखेका थिए ।

समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, प्राज्ञ, कलाकार, पत्रकार तथा कलाप्रेमीहरू सक्रिय रूपमा सहभागी भएका थिए । कार्यक्रमले ललितकलाको क्षेत्रमा एआईको भूमिका, चुनौती र सम्भावनाबारे नयाँ बहसको सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस !