१९ मंसिर २०८२, शुक्रबार

रुपन्देही–३ मा रास्वपाको उपचुनावी चहलपहल : उम्मेदवारीका लागि ९ जनाकाे आवेदन स्वीकार

प्रकाशित मिति :  7 August, 2025 3:19 pm


दाङ । आगामी उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नं ३ मा निकै सक्रिय देखिएको छ । एकातर्फ उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ भने अर्कातर्फ संगठन विस्तार, जनसम्पर्क र जनमत निर्माणमा समेत पार्टीले विशेष ध्यान दिएको छ । यही कारण, रूपन्देही–३ हाल रास्वपाको आन्तरिक र बाह्य राजनीतिक गतिविधिको केन्द्र बनेको छ।

साउन ७ देखि २१ गतेसम्मको समयसीमामा अनलाइन आवेदन दिएका ९ जनालाई रास्वपाको निर्वाचन आयोगले उम्मेदवारको रूपमा सदर गरेको छ ।

पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यका अनुसार ती सबै उम्मेदवारहरू स्थानीय हुन्, जसले क्षेत्र भित्रको भूगोलमा काम गर्दै आएका छन्। उम्मेदवार छनोटमा पार्टीले पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अंगालेको देखिन्छ।

यसरी उम्मेदवारी दिनेहरूमा पार्टीका केन्द्रीय सदस्य कुशुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अघिल्लो निर्वाचनका उम्मेदवार जेबी गुप्ता (शेखर), डा. लेखजंग थापा, महिला नेतृ ज्ञानु पौडेल, अधिवक्ता शुलभ खरेल, जिल्ला कोषाध्यक्ष रचना क्षेत्री, महिला उद्यमी पुनम अग्रवाल र पार्थीवेन्द्र उपाध्याय छन् । उम्मेदवारहरू विभिन्न पेशागत पृष्ठभूमिबाट आएका छन् ।

आन्तरिक प्रतिस्पर्धा र प्रक्रिया
रास्वपाले उम्मेदवार छनोटमा चरणबद्ध प्रक्रिया अपनाएको छ । साउन २३ र २४ गते उम्मेदवारहरूबाट दावी–विरोधका कार्यक्रम, २५ गते नामावली प्रकाशनपछि छलफल, भदौ ११ सम्म प्रशिक्षण र अन्ततः भदौ १२ र १३ गते आन्तरिक निर्वाचनको कार्यतालिका तय गरिएको छ । भदौ १५ मा अन्तिम उम्मेदवार घोषणा गरिने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

यो प्रक्रियाले उम्मेदवार छनोटमा एकातर्फ कार्यकर्ताको संलग्नता सुनिश्चित गरेको छ भने अर्कोतर्फ संगठनभित्र राजनीतिक चेतनाको अभ्यासलाई संस्थागत बनाएको छ ।

पार्टीको नीति अनुसार, बाहिरबाट आउने व्यक्ति केवल नेतृत्व तहको सहमतिमा होइन, पूर्ण प्रक्रियामार्फत मात्र उम्मेदवार बन्न सक्छन् । यसले भूगोलमा काम गर्ने स्थानीय नेताहरूलाई प्राथमिकतामा राख्ने र जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिलाई प्रोत्साहन गर्ने रणनीति देखिन्छ ।

बलिया दावेदार र मैदानको प्रतिस्पर्धा
हालसम्मको राजनीतिक गतिविधि र कार्यकर्ताबीचको संवादको आधारमा ४–५ जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्रीय सभापति मधु अर्याल, अधिवक्ता शुलभ खरेल, केन्द्रीय सदस्य कुशुम महर्जन, महिला नेतृ ज्ञानु पौडेल र अघिल्लो चुनावमा उम्मेदवारी दिएका जेबी गुप्ता (शेखर) बलिया दावेदारका रूपमा देखिएका छन् । ती सबै उम्मेदवारहरू चुनावी मैदानमा सुरुवाती चरणदेखि सक्रिय छन् ।

अरु उम्मेदवारहरू पनि आफ्ना क्षेत्रीय र सांगठनिक हैसियतअनुसार मैदानमा छन् तर पार्टीभित्र फैलिएको धारणा अनुसार स्थानीय स्तरमा कम समय काम गरेका उम्मेदवारले आन्तरिक निर्वाचनमा चुनौती सामना गर्नुपर्नेछ । यसले गर्दा कतिपय आकांक्षी उम्मेदवारी प्रक्रियामा नै नअगाडि बढ्न सक्ने सम्भावना देखिएको छ ।

लामिछानेको निर्देशन र रणनीति
रास्वपाका सभापति रवि लामिछाने हाल रुपन्देहीकै कारागारमा रहेका छन् तर कारागारमै रहे पनि उनले पार्टी सञ्चालन र संगठन विस्तारमा सक्रिय निर्देशन दिइरहेका छन् ।

उनका निर्देशनअनुसार हाल पार्टीका शीर्ष नेताहरू, प्रदेश कमिटी र संसदीय दलको बैठकसमेत यही क्षेत्रमा राखिएको छ । यसले चुनावलाई लिएर पार्टीको ध्यान र प्राथमिकता रुपन्देही–३ मा केन्द्रित रहेको पुष्टि गर्छ ।

लामिछानेले पार्टीका सबै तहका कमिटीहरूलाई चुनावलाई सशक्त रूपमा लिन निर्देशन दिइरहेका छन् । यही कारण, कारागारको नियमित भेटघाट, क्षेत्रका सबै वडाहरूमा कार्यक्रम, प्रशिक्षण र संवादमार्फत पार्टीले चुनावलाई मात्र नभई दीर्घकालीन संगठन विस्तारको अवसरका रूपमा लिएको छ ।

विगतको मत र अहिलेको अवसर
२०७९ को आम निर्वाचनमा रुपन्देही–३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा प्रत्यक्षतर्फ उम्मेदवार जीतबहादुर गुप्ताले ५,७९६ मत ल्याएका थिए । यो आँकडा कुनै शक्तिशाली गठबन्धनबिना प्राप्त गरिएको जनमत हो । यसले पार्टीको सम्भावना देखाउँछ ।

अघिल्लो निर्वाचनमा एमाले र राप्रपाको गठबन्धनबाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए भने कांग्रेसका वरिष्ठ नेता बालकृष्ण खाँण पराजित भएका थिए ।

निर्वाचन क्षेत्रभित्र करिब १ लाख ३० हजार मतदाता रहेका छन् भने अघिल्लो निर्वाचनमा झण्डै ९० हजार मत खसेको थियो । पछिल्लो समय कांग्रेस यहाँ पहिलो शक्तिका रूपमा देखिएको भए पनि रास्वपाको चहलपहल र रणनीतिक सक्रियताले यो चुनावी समीकरणमा नयाँ गतिशीलता ल्याएको छ ।

संगठन विस्तार र जनमत निर्माण
रास्वपाले यो उपचुनावलाई संगठन विस्तार, जनतासँगको सम्बन्ध बलियो बनाउने र दीर्घकालीन जनाधार निर्माण गर्ने अवसरका रूपमा लिएको छ ।

चुनावी नतिजा जे भए पनि रास्वपाले यो प्रक्रियामार्फत संगठनभित्र नेतृत्व उत्पादनको अभ्यास, जिम्मेवारीको बाँडफाँड र कार्यकर्ताबीचको सहभागितालाई स्थापित गर्ने लक्ष्य राखेको देखिन्छ ।

प्रदेश अध्यक्ष पाठकका अनुसार, प्रक्रिया नअपनाई उम्मेदवार बन्न नपाइने नीति पार्टीले स्पष्ट बनाएको छ। ‘‘जोसुकै व्यक्ति प्रक्रियामा आउनुभयो र योग्य देखिनुभयो भने उम्मेदवार बन्न सक्नुहुन्छ,’‘ पाठकले भने, ‘‘बाहिरबाट आउँदा मात्र उम्मेदवार बन्न पाइँदैन, यसले भूगोलमा काम गर्ने कार्यकर्तालाई आत्मीयता दिलाउँछ।’‘

रुपन्देही–३ को उपचुनावले रास्वपाका लागि केवल एउटा सांसद जित्ने प्रयास मात्र होइन, संगठन, नेतृत्व अभ्यास, नीति कार्यान्वयन र जनसम्पर्कको परीक्षणको अवसर बनेको छ ।

उम्मेदवार छनोटमा देखिएको लोकतान्त्रिक अभ्यास, संगठनात्मक सक्रियता र रणनीतिक कार्ययोजनाले रास्वपालाई यस क्षेत्रका मतदाताबीच वैकल्पिक शक्तिका रूपमा पुनः स्थापित गर्ने सम्भावना बलियो बनाएको छ । अब हेर्न बाँकी छ-कारागारबाटै निर्देशन दिइरहेका रवि लामिछानेको योजनाले चुनावी परिणाममा कति प्रभाव पार्नेछ ।



प्रतिक्रिया दिनुहोस !