हिमनदीकाे पग्लाईबाट भूपरिवेष्टित राष्ट्रमा गम्भीर असर परेकाे छ-प्रधानमन्त्री ओली
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी (ग्लेसियर) को तीव्र पग्लाइका कारण भूपरिवेष्टित विकासशील मुलुकहरूले गम्भीर जलवायु संकटको सामना गर्नुपरेको बताएका छन् ।
उनले आज तुर्कमेनिस्तानको अवाजा सहरमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै जलवायु परिवर्तनले पार्ने असरबारे नेपाललगायतका हिमाली राष्ट्रहरूको पक्षमा गहिरो चासो व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “हाम्रा हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । यसले नदीनाला सुकाउँदै लगेको छ, कृषि प्रणालीमा अवरोध उत्पन्न भएको छ र जनजीवनमा गम्भीर असर पारिरहेको छ । जलवायु परिवर्तन हाम्रो अस्तित्वमै प्रश्न उठाउने स्थितिमा पुगेको छ ।”
उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको सन्दर्भमा जलवायु अन्यायको विषय उठाउँदै विश्वका औद्योगिक राष्ट्रहरूले उत्सर्जन वृद्धि गरी पृथ्वीको तापक्रम बढाएको तर त्यसको सबैभन्दा बढी असर हिमाली र भूपरिवेष्टित देशहरूले व्यहोर्नुपरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले जलवायु वित्त, प्रविधिको हस्तान्तरण र क्षमता अभिवृद्धिको विषयलाई पनि जोड दिए । उनले भने, “हामीजस्ता मुलुकहरूले जलवायु परिवर्तनको प्रभाव सहन नसक्ने अवस्थामा पुगेका छौं । अतः विकसित राष्ट्रहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दै वित्तीय सहयोग, हरित प्रविधि र ज्ञान आदानप्रदानमा अग्रसर हुनुपर्छ ।”
प्रधानमन्त्रीले विशेषगरी नेपालजस्ता मुलुकहरूको परिप्रेक्ष्यमा जलवायु सम्बन्धी कार्ययोजना र अनुकूलन उपायहरूलाई सुदृढ गर्न अन्तर्राष्ट्रिय समुदायको भूमिका अपरिहार्य रहेको बताए ।
उनले हिमाली देशहरूको वातावरणीय सन्तुलन विश्वकै लागि महत्वपूर्ण भएको उल्लेख गर्दै यी देशहरूलाई संरक्षणको प्राथमिकतामा राख्न आग्रह गरे ।
साइड इभेन्टमा जलवायु परिवर्तनका विविध आयाममा छलफल गरिएको थियो । सहभागी राष्ट्रहरूले आफ्नो अनुभव साटासाट गर्दै संयुक्त आवाजका साथ जलवायु न्यायको माग गरेका थिए ।
प्रधानमन्त्री ओली हाल संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै उच्चस्तरीय प्रतिनिधिमण्डलसहित तुर्कमेनिस्तानको अवाजा सहरमा रहेका छन् ।
सम्मेलनमा भूपरिवेष्टित राष्ट्रहरूको आर्थिक विकास, सस्टेनेबिलिटी र अन्तर्राष्ट्रिय व्यापारमा पहुँचका विषयमा छलफल भइरहेको छ ।








