१९ मंसिर २०८२, शुक्रबार

बुटवल–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

प्रकाशित मिति :  8 August, 2025 12:32 pm


बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने भाग पुनः अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो बनेपछि गाडी फसेर आवागमन रोकिएको हो ।

लगातारको वर्षाले गत सोमबार बिहानदेखि अबरुद्ध हुँदै आएको दाउन्ने खण्ड केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध हुने क्रम दोहोरिएको छ । आज बिहानदेखि फेरि सम्पूर्ण यातायात रोकिएको प्रहरीले जनाएको छ।

“हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सक्दैनन्। हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ,” प्रहरी उपरीक्षक ढकालले भने, “पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ।”

सडक अवरोधका कारण यातायात पूर्णरूपमा ठप्प भएको छ भने मर्मत गरी सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२, विश्वकर्मा मन्दिर नजिकैको भागमा बारम्बार अवरोध हुने गरेको छ। बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षामा पनि अवरोधको समस्या देखिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !