आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु हुने छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आव २०८०/८१ को ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ। उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।








