प्रतिनिधिसभा बैठक बस्दै : यस्ताे छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने भएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसहित विभिन्न चार संसदीय समितिका बैठकहरू पनि बस्दैछन् ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल हुने छ । कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा साउन २३ गते घटेको घटना तथा त्यसको प्रभाव र समाधान उपायबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम राखेको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षको ६२औँ प्रतिवेदनमा समेटिएका मूलभूत पक्षबारे छलफल हुने कार्यसूची छ ।








