नेपालगञ्जमा २२ लाखभन्दा बढी नगद र ब्राउनसुगरसहित युवक पक्राउ
दाङ । बाँकेको नेपालगञ्जमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा नगद र ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगञ्ज–१४ का २८ वर्षिय रमेश लोनियाको घरमा खानतलासी गर्दा नेपाली र भारतीय गरी रु २२ लाख ३ हजार ९१५ नगद तथा १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको डीएसपी पातलीले जानकारी दिए ।
खानतलासीका क्रममा लोनियाको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल फोन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
घटनामा अवरोध सिर्जना गर्ने प्रयास गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको र तीमध्ये दुई जनालाई प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिएको डीएसपी पातलीले बताए ।








