२१ मंसिर २०८२, आइतबार

कालीगण्डकी करिडोरको गुल्मी खण्ड चार दिनपछि एकतर्फी सञ्चालनमा

प्रकाशित मिति :  14 August, 2025 11:55 am


बुटवल । पहिरोका कारण चार दिनदेखि अवरुद्ध भएको कालीगण्डकी करिडोरको गुल्मी खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार माथिबाट चट्टानसहितको पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएपछि यातायात आंशिक रूपमा सहज भए पनि एकतर्फी मात्र सञ्चालन भइरहेको उनले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा करिडोरमार्ग हुँदै आवतजावत गर्ने यात्रुले ठूलो सास्ती व्यहोर्नुपरेको थियो । कालीगण्डकी करिडोरको गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनौटालगायत स्थानमा बारम्बार पहिरो खस्ने गरेकाले आवागमन प्रभावित हुने गरेको छ ।

विशेषगरी कालीगण्डकी गाउँपालिकाका वडा नं. १, २ र ३ भित्रको ८ किलोमिटर दुरीमै तीन स्थानमा पहिरो खस्ने समस्या देखिँदै आएको छ ।

यसैबीच, रुद्रवेणी–वामी खण्डस्थित डहरे खोलामा पानीको बहाव घटेपछि बुटवल–बुर्तिबाङ सडक सञ्चालनमा आएको छ। तर, बुटवल–तम्घास सडकखण्डको रिडी–तम्घास भाग भने रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पहिरो खसेर अवरुद्ध छ। यो खण्डमा अहिले वैकल्पिक मार्ग प्रयोग भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !