राष्ट्रियसभामा प्रधानमन्त्रीद्वारा वार्षिक प्रतिवेदन पेस गरिदै
काठमाडाैँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन सभामुखसमक्ष टेबुल गर्नेछन्।
आज पाँचवटा संसदीय समितिको बैठकसमेत बस्ने भएका छन् । तीमध्ये अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल हुनेछ।
उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ बारे विषयविज्ञसँग छलफल हुनेछ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीबारे समीक्षा गर्ने कार्यक्रम छ।
सार्वजनिक लेखा समितिमा ट्रकको भारवहन क्षमता सम्बन्धी समितिमा प्राप्त उजुरीमाथि छलफल हुने छ भने विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची तय भएको छ ।








