रास्वपाकाे लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु हुँदै
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा आजदेखि तीन दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण प्रारम्भ गरेको छ।
रुपन्देही–३ मा आसन्न उपनिर्वाचनको तयारीलाई लक्षित गर्दै आयोजना गरिएको यस प्रशिक्षणमा केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ।
लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भैरहवाको गल्लामण्डीस्थित दरबार ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु भएको प्रशिक्षणमा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झा, महामन्त्री कविन्द्र बुर्लाकोटी, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, केन्द्रीय सदस्य तोषिमा कार्की, क्रान्तिशिखा धिताल र केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहामन्त्री विपिनकुमार आचार्यलगायतले प्रशिक्षण दिनेछन्।
पार्टी लुम्बिनी प्रदेश सभापति देवराज पाठकका अनुसार, साउन २९ गते सबै जिल्लाका सभापतिहरूको बन्द शिविर, ३० र ३१ गते प्रदेशका सबै जिल्लाका पालिका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यबीच प्रशिक्षण हुनेछ। कार्यक्रममा पार्टी सबलीकरण, सदस्यता विस्तार, उपनिर्वाचनको रणनीति र योजनाबारे विस्तृत प्रशिक्षण दिइनेछ।
रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाले नौ जना आकांक्षीको प्रारम्भिक सूची तय गरिसकेको छ। पार्टीले आकांक्षीहरूलाई क्षेत्रमै खटाउँदै चुनावी तयारी र आधार सुदृढ बनाउने लक्ष्य लिएको छ ।
यसअघि पनि रास्वपाले आफ्नो संसदीय दलको बैठक रुपन्देहीमै सम्पन्न गरेको थियो, जसलाई भैरहवामा सुरु भएको यो प्रशिक्षण कार्यक्रमको पूर्वभूमिका मानिएको छ।








