शासक नभई जनताको सेवक बन्न प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशन
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई जनताको सुरक्षामा खटिने संवेदनशील संयन्त्रका रूपमा शासक होइन, जनताको सेवकको भूमिकामा काम गर्न निर्देशन दिएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निर्मित भवनको आज जनकपुरधाममा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र शान्ति–सुरक्षा कायम गर्न प्रहरीको कार्यशैली न्यायोचित र निष्पक्ष हुनुपर्नेमा जोड दिए ।
उनले अतीतमा राणा शासन र पञ्चायती व्यवस्थामा झूटो आरोप लगाएर फसाउने, यातना दिने प्रवृत्ति रहेको स्मरण गर्दै, “अब त्यस्तो अवस्था दोहोरिनु हुँदैन,” भने ।
प्रधानमन्त्री ओलीका अनुसार केही तत्वहरू मुलुकमा अराजकता फैलाउने, आफूलाई नयाँ शक्तिको नाममा भ्रम सिर्जना गर्ने र अस्थिरता ल्याउने गतिविधिमा संलग्न छन् ।
“लोकतन्त्र ल्याउन कुनै योगदान नदिएका यस्ता तत्वलाई समाज र राष्ट्रले सजाय दिनुपर्छ,” उहाँले चेतावनी दिनुभयो। लोकतन्त्र जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको स्मरण गराउँदै उनले यसको सुरक्षा र दिगोपनाका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे ।
उनले नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने जिम्मा पूरा गरिरहेको र त्यस्तै नेपाल प्रहरीले आफ्नो दक्षता र इमान्दारीका साथ जनताको सेवा र सुरक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
चोरी, डकैती, लागुऔषधको दुरुपयोग, सीमा क्षेत्रमा हुने तस्करी, अवैध मानव ओसारपसार र राजस्व चुहावटजस्ता चुनौतीपूर्ण आपराधिक क्रियाकलाप रोक्न प्रहरी संगठन गम्भीरतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेको संयुक्त प्रयासबाट बनेको वर्तमान सरकारले स्थिरता, सुशासन र शान्ति–सुरक्षा कायम गर्ने उद्देश्य राखेको उल्लेख गर्दै, “भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटोछरितो सेवा दिनेतर्फ प्रहरीको ध्यान केन्द्रित हुनुपर्छ,” भने ।
उनले मधेस प्रदेश सरकारले समयसापेक्ष भौतिक सुविधाले सम्पन्न प्रहरी भवन निर्माण गरेर प्रहरीलाई सबल बनाउने प्रयासप्रति खुशी व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नवर्निर्मित भवनको निरीक्षण पनि गरे ।








