२१ मंसिर २०८२, आइतबार

कृष्ण जन्माष्टमी : देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

प्रकाशित मिति :  16 August, 2025 9:05 am


s[i0f dlGb/df eQmhgsf] 3’OFrf] nlntk’/,@) ebf} M s[i0f hGdfi6dLsf] cj/;df kf6g b/af/ kl/;/df /x]sf] s[i0f dlGb/ bz{g Pjd k”hfcfh ug{ eQmhgsf] 3’OFrf] . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौँ । आज बिहानैदेखि उपत्यकाका सडक, गल्ली र चोकहरूमा विशेष रौनक छ । भाद्र कृष्ण अष्टमीको दिनसँगै मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा भक्तजन श्रद्धा–भक्तिपूर्वक मन्दिरतर्फ आकर्षित भएका छन् ।

पाटन दरबार क्षेत्रको ऐतिहासिक कृष्णमन्दिरमा विहानैदेखि लामो लाइन लागेको छ। मङ्गलबजार वरपरका गल्ली भक्तजनका भीडले भरिएका छन् ।

राजधानीकै उत्तरपूर्वी भेगमा पर्ने कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटारस्थित नवतनधाममा पनि कृष्णप्रेमीहरू झुम्मिएका छन् । त्यस्तै बूढानीलकण्ठस्थित इस्कोन (नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ) परिसरमा आज विशेष धार्मिक कार्यक्रमको माहोल छ ।

केवल यी मुख्य मन्दिरहरू मात्र होइन, उपत्यकाका कुनाकाप्चा, टोलटोलमा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरहरूमा पनि भक्तजनको घुइँचो देखिएको छ । राजधानीका पशुपति क्षेत्र, वसन्तपुर दरबार क्षेत्र लगायतका प्रमुख स्थलमा आज बिहानैदेखि भक्तजनको भीड देखिएको छ ।

‘मोहरात्रि’ र विशेष व्रत

वैदिक सनातन धर्मावलम्बीका लागि यो दिन विशेष धार्मिक महत्त्व राख्छ। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको अवतार भएको विश्वास गरिन्छ। त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

आज दिनभर पूजा–आराधना, प्रवचन, भजनकीर्तनसँगै महिलादेखि पुरुषसम्म व्रत बस्ने परम्परा छ। अष्टमीको मध्यरातपछि जन्मउत्सव मनाउने, मन्दिरमा घण्टी बजाउने र भजनकीर्तनमा रमाउने भक्तजन रातभर जाग्राम बस्ने गर्छन्।

न्यायका लागि अवतार

अन्याय र अत्याचार चुलिँदा भगवान् विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा अवतरण गर्नुभएका श्रीकृष्णलाई सत्य र धर्मका प्रतीकका रूपमा मानिन्छ ।

कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहारदेखि बाल्यकालीन लीला प्रदर्शनसम्म उहाँका कथाहरू पौराणिक ग्रन्थमा व्यापक रूपमा वर्णित छन् ।

महाभारतकालीन कुरुक्षेत्र युद्धमा अर्जुनलाई दिएको उपदेशबाट प्रकट भएको ‘श्रीमद्भगवद्गीता’ आज विश्वकै सर्वाधिक भाषामा अनुवाद भएको धार्मिक–दार्शनिक ग्रन्थ मानिन्छ । यसले सत्य र सत्कर्ममा अडिग रहन मानव समुदायलाई प्रेरणा दिएको विश्वास गरिन्छ ।

शोभायात्रा र रथयात्रा

काठमाडौँका विभिन्न धार्मिक सङ्घ–संस्थाले आज झाँकीसहितको शोभायात्रा र रथयात्रा निकालेका छन्। कतिपय स्थानमा अष्टमीकै दिन रथयात्रा गर्ने चलन छ भने कतै भोलि नवमीको दिन रथयात्रा निकालिन्छ।

“अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएकाले नवमीको दिन उत्सव स्वरूप रथयात्रा गर्ने परम्परा रहिआएको हो,” नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

भक्ति र उल्लासको संगम

आजको दिन राजधानी मात्र होइन, देशभरका मठ–मन्दिरमा भक्तिभाव र उल्लासको संगम बनेको छ। कोही व्रतव्रती, कोही भजनकीर्तनमा, कोही मन्दिरभित्र लामो लाइनमा-सबैले आआफ्नै ढंगले भगवान् श्रीकृष्णलाई सम्झिरहेका छन् । भक्तिभाव र सांस्कृतिक उत्सवको यही संगमले जन्माष्टमीलाई वर्षको विशेष दिन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !