२१ मंसिर २०८२, आइतबार

सर्लाहीमा गोली प्रहारबाट एकजनाको मृत्यु

प्रकाशित मिति :  16 August, 2025 10:33 am


सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार ४५ वर्षिय रामपुकार राय यादवलाई आफ्नै घरको आँगनमा छरछिमेकीसँग गफ गर्दै गरेको अवस्थामा गोली प्रहार गरिएको थियो ।

प्रत्यक्षदर्शीका भनाइअनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले पेस्तोल निकालेर यादवको टाउकोमा गोली हानेका थिए ।

गम्भीर घाइते भएका यादवलाई महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको स्वास्थ्य संस्थामा पुर्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीयवासीले दिएको जानकारीअनुसार ती अपरिचित व्यक्तिहरूले यादवलाई पहिले चिनाउँदै सोधपुछ गरेका थिए, त्यसपछि गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार गोली प्रहारपछि भाग्ने क्रममा उनीहरू सवार मोटरसाइकल बसन्तपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जना फरार भएका छन् भने अर्का घाइतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्ने प्रयास भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !