१९ मंसिर २०८२, शुक्रबार

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

प्रकाशित मिति :  16 August, 2025 3:05 pm


अछाम । अछाममा झण्डा फहराउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक शुक्रबार साँझ कृष्ण जन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारीका क्रममा सार्वजनिक स्थलमा झण्डा गाड्ने क्रममा दुर्घटना भएको हो ।

फलामे डन्डाले माथि तानिएको झण्डा नजिकैको विद्युत् लाइनमा छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउद गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल अछाम पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

घटनामा बान्निगढी जयगढ गाउँपालिका–६ का १८ वर्षिय समीर शाह, १७ वर्षिय विनोद रावत, २० वर्षिय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षिय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षिय शमशेर साउद घाइते भएका छन्। उनीहरूको बयालपाटा अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।



प्रतिक्रिया दिनुहोस !