भगवती जात्रा अमूल्य धरोहर-मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा आयोजना हुन लागेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत भगवती जात्रा केवल विजयको गौरव मात्र नभई धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश बोकेको अमूल्य धरोहर भएको उल्लेख गरे ।
उनले यसले आपसी सहकार्य र भाइचारालाई मजबुत बनाउनुका साथै पुराना परम्परा र धार्मिक मान्यताहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
वि.सं. १८७१–७२ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा आयोजना हुँदै आएको छ ।
विजयपछि कर्णेल उजिरसिंह थापाले महिषासुर मर्दिनी भगवतीको मन्दिर स्थापना गरी रथ जात्राको परम्परा सुरु गरेका ऐतिहासिक तथ्यलाई मुख्यमन्त्री आचार्यले स्मरण गराए ।
प्रदेश सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजनाहरू अघि बढाइरहेको पनि उनले जानकारी दिए ।
हिमाल, पहाड र तराईलाई समेट्ने गरी लुम्बिनी प्रदेशमा पर्यटन सर्किट विकासको तयारी भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले पाल्पाको भगवती जात्रा जस्तो अमूल्य धरोहर यस अभियानको महत्वपूर्ण हिस्सा बन्न सक्ने विश्वास व्यक्त गरे । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज आइतबार पाल्पा जिल्लाभर सार्वजनिक विदा दिएको छ।








