१९ मंसिर २०८२, शुक्रबार

विषाक्त मदिराले कुवेतमा लियाे ११ नेपालीकाे ज्यान

प्रकाशित मिति :  17 August, 2025 6:34 am


कुवेत सिटी । कुवेतको राजधानी कुवेत सिटीको अस्पतालको आइसियुमा केही दिनदेखि निरन्तर गुञ्जिरहेका छन्-मेसिनका आवाज, औषधिको गन्ध र थाकेका आँखाले छोपेका नेपाली श्रमिकका अनुहार । कोही पल्टिरहेका छन्, कोही आधा होसमा छन् तर ११ जना अब त्यहाँ फर्केर आउने छैनन् ।

यी सबै नेपालीहरू परिश्रम गरेर घर परिवारको सपना पुरा गर्न हजारौं किलोमिटर टाढा खाडी मुलुक पुगेका थिए तर विषाक्त मदिराले उनीहरूको कथा यत्तिकै अधुरो बनाइदियो ।

वर्षौँको पसिना, केही घण्टाको लापरबाही

२२ देखि ४५ वर्ष उमेर समूहका यी श्रमिकहरू मध्ये धेरैजसो उत्पादन तथा सेवाका कम्पनीमा काम गर्थे। कसैले चार वर्ष, कसैले पाँच वर्षसम्म पसिना बगाए । नेपालमा परिवारका लागि घर बनाउन, छोराछोरीलाई विद्यालय पठाउन, ऋण तिर्ने सपनाले उनीहरू दिन–रात परिश्रममा थिए ।

तर, चाडपर्व नजिकिँदै गर्दा साथीभाइसँग बस्दा खाएको केही घुट्के विषाक्त मदिराले उनको जीवन लत्याइदियो । कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ तर प्रतिबन्धकै ओझेलमा कहिलेकाहीँ साथीबाट ल्याएको ‘पिउन योग्य’ भन्ने विश्वासमा उनले सानो गिलास उठाए। त्यो सानो गिलासमै जीवन बन्दिएको छ ।

अस्पतालका कोठामा संघर्ष

४० भन्दा बढी नेपाली बिरामीमध्ये १५ जना अझै आइसियुमा छन् । कुवेतका आदान, फर्वनिया र मुबारक अलकबीलगायतका अस्पतालमा उपचार भइरहेका छन् । दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्य भन्छन्, “उपचारमा कुनै कसर बाँकी छैन। डाक्टरहरूले सकेसम्म पूर्ण निको बनाएर मात्रै पठाउने तयारी गरेका छन् ।”

कसैको अवस्था सामान्य छ, कोही त डिस्चार्ज भएर काममा फर्किएका छन् तर अस्पतालको रिपोर्टले प्रष्ट पारेको छ-मदिरामा ‘मेथानोल’ नामक घातक रसायन मिसिएको थियो। यही रसायनले अंग अङ्गलाई बिस्तारै नष्ट गर्‍यो ।

गाउँमा रोदन, दूतावासमा दौडधुप

नेपालमा भने उनीहरूको परिवारमा अकल्पनीय पीडा छ । जसले गत महिना मात्र फोनमा भनेका थिए, “यस पटक दशैंमा तलव राम्रै आएको छ, सबैलाई नयाँ लुगा पठाउँछु ।” अब त्यही परिवारलाई चिठी होइन, बाकसमा लाश फर्कनेछ।

दूतावासले शव छिट्टै नेपाल पठाउने तयारी गरिरहेको छ । परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार बोर्डसँग निरन्तर समन्वय भइरहेको छ ।

सवाल उठ्छ : जिम्मेवार को ?

यो दुर्घटना कुनै प्राकृतिक प्रकोप होइन । यो अनियमितताको परिणाम हो-प्रतिबन्धित पदार्थको तस्करी, सस्तो स्वादमा लापरबाही र राज्यको निगरानीको कमजोरी ।

कुवेतमा मात्र होइन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कतिपय बेला ‘जीवनभन्दा ठूलो जोखिम’ मा हुन्छन्। उनीहरूको स्वास्थ्य, जीवन सुरक्षा र मनोरञ्जनसमेत प्रबन्धित छैन । ११ जना नेपाली फर्कंदैनन्। तर, उनीहरूको मृत्युले ठूलो प्रश्न भने उठाएको छ-नेपाल सरकार र दूतावासहरू कति सक्रिय छन् आफ्ना नागरिकको जीवन सुरक्षामा ? वैदेशिक रोजगारीमा जाने हजारौं नेपालीका लागि कस्तो सुरक्षित वातावरण बनाउन सकिन्छ ?

यस घटनाले फेरि सम्झाएको छ-परिश्रमको देश परदेशमा भए पनि, जीवनको मूल्य सधैं महँगो हुन्छ र एउटा सानो लापरबाहीले परिवारका पुस्तौं पुस्ताको सपना चकनाचुर पार्न सक्छ ।



प्रतिक्रिया दिनुहोस !