अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने
प्रकाशित मिति : 17 August, 2025 11:52 am
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा हाल अत्यधिक तरलता रहेको कारण त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ३१ दिन अवधिको लागि संकलन गरिने निक्षेपको साँवाब्याज आगामी असोज १ गते भुक्तानी गरिनेछ । यसका लागि राष्ट्र बैंकले बोलकबोलको प्रक्रिया अपनाउने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले समयसमयमा निक्षेप संकलनमार्फत वित्तीय क्षेत्रमा उत्पन्न तरलताको दबाब कम गर्ने अभ्यास गर्दै आएको छ । यस कदमलाई बैंक तथा वित्तीय क्षेत्रमा मौद्रिक स्थिरता कायम राख्ने उपायका रूपमा हेरिएको छ ।








