लुम्बिनी प्रदेशले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेको छ-मुख्यमन्त्री आचार्य
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई प्राङ्गारिक प्रदेशका रूपमा विकास गर्ने लक्ष्यअनुरूप प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
शुद्धोधन गाउँपालिका–१ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको शनिबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले प्रदेश सरकारले यसलाई नीतिगत प्राथमिकता दिएको स्पष्ट पारे ।
“प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्राङ्गारिक मल उत्पादन हुनु जरुरी छ । यही मलको प्रयोग गरेर खेती प्रणालीलाई अघि बढाउने गरी केही वर्षभित्र लुम्बिनीलाई प्राङ्गारिक प्रदेशको रूपमा विकास गर्ने लक्ष्य पूरा हुनेछ,” उनले भने ।
मुख्यमन्त्री आचार्यले सामुदायिक संघसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गरेर प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने वातावरण प्रदेश सरकारले बनाउने बताए ।
उनले कृषि क्षेत्र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन र रोजगारी सिर्जना गर्न मुख्य आधार भएको उल्लेख गर्दै परम्परागत अभ्यासलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे ।
“अहिले देखिएको मलको समस्या कम गर्न प्राङ्गारिक मल र कम्पोस्ट मल नै सक्षम छन् । वनजंगलमा खेर गइरहेका पातपतिङ्गर संकलन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ । गाउँशालामा यो अभियान सुरु भइसकेको छ । किसानका गोठलाई सुधार गरेर मलमुत्रबाट प्राङ्गारिक मल उत्पादनलाई अभियानका रूपमा लैजान जरुरी छ,” मुख्यमन्त्री आचार्यले भने ।
अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थीले रासायनिक मलको अभावले किसानले भोग्नुपरेको समस्याको समाधान प्राङ्गारिक मल उत्पादनमै देखिएको बताए ।
त्यसैगरी उद्यमी सीपी शर्माले अर्गानिक उत्पादनलाई विस्तार गर्न प्रदेश सरकारले सहयोग गरे यसलाई अझ व्यापक अभियानका रूपमा अघि बढाउन सकिने धारणा राखे ।
उनले दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना अघि सारिएको र यसका लागि लगानी आकर्षित गर्ने कार्य भइरहेको जानकारी दिए ।








